काठमाडौँ । भारतीय चर्चित अभिनेता प्रदीपसिंह रावतको निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित ७४ वर्षीय रावतको मंगलबार साँझ मुम्बईस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
भारतमा रहेकी नेपाली अभिनेत्री विपना थापाले मुम्बईस्थित कोकिलाबेन अस्पतालमा रावतको निधन भएको जानकारी दिएकी हुन्।
हिन्दी, तेलुगु र तमिल चलचित्रका चर्चित अभिनेता रावतले नेपाली चलचित्र ‘आ बाट आमा’ र ‘ह्रस्व दीर्घ’मा पनि अभिनय गरेका थिए। निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेका यी चलचित्रमार्फत उनले नेपाली चलचित्र क्षेत्रमा पनि आफ्नो छाप छाडेका थिए।
रावतले चर्चित टेलिभिजन धारावाहिक ‘महाभारत’मा अश्वत्थामाको भूमिका निर्वाह गरेका थिए। साथै ‘सरफरोश’, ‘लगान’ र ‘गजिनी’ जस्ता चर्चित भारतीय चलचित्रमा उनले खलनायकको सशक्त भूमिका निभाएका थिए।
नेपाली चलचित्र ‘आ बाट आमा’ र ‘आ बाट आमा–२’मा उनले अभिनेत्री विपना थापासँग सहकार्य गरेका थिए। रावतको निधनपछि विपना थापाले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेकी छन्। भारतीय चलचित्र क्षेत्रका कलाकारहरूले पनि उनको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
