काठमाडौँ । मोटोपन घटाउन प्रयोग भइरहेका नयाँ पुस्ताका औषधिले तौल कम गर्नुका साथै मानिसको मदिरा सेवन गर्ने चाहना पनि घटाउन सक्ने देखिएको छ। ‘ओजेम्पिक’, ‘वेगोभी’ र ‘माउन्जारो’ जस्ता औषधि प्रयोग गरिरहेका केही व्यक्तिले मदिराप्रतिको रुचि र सेवनमा उल्लेख्य कमी आएको अनुभव सुनाएका छन्।
बीबीसीका अनुसार दक्षिण वेल्सकी ४६ वर्षीया लिसा रिसले गत अप्रिलदेखि तौल घटाउन औषधि प्रयोग गर्न थालेकी थिइन्। पहिले एक रातमा दुई बोतलसम्म वाइन पिउने उनी अहिले दुई ग्लासपछि थप मदिरा पिउन मन नलाग्ने बताउँछिन्। उनका अनुसार औषधि सुरु गर्नुअघि उनी हप्तामा ६ देखि ८ बोतलसम्म वाइन पिउँथिन्।
मस्तिष्कको ‘रिवार्ड सिस्टम’ मा प्रभाव
वैज्ञानिकहरूका अनुसार यी औषधिले शरीरमा प्राकृतिक रूपमा उत्पादन हुने ‘जीएलपी–१’ हर्मोनको नक्कल गर्छन्। यसले भोक नियन्त्रण गर्नुका साथै मस्तिष्कको ‘रिवार्ड सिस्टम’ अर्थात् कुनै वस्तु वा गतिविधिबाट आनन्द प्राप्त गर्ने प्रक्रियामा समेत प्रभाव पार्न सक्छ।
यसै कारण मदिरा, निकोटिनलगायत पदार्थप्रतिको चाहना कम हुन सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ।
सन् २०२५ मा प्रकाशित एक अध्ययनमा युनिभर्सिटी अफ साउथ क्यारोलिनाका डा. क्रिस्चियन हेन्डरशटको टोलीले ओजेम्पिक प्रयोग गर्ने व्यक्तिमा मदिराको चाहना कम भएको पाएको थियो। यस्तै, युनिभर्सिटी अफ कोलोराडो एन्सचुट्जको अर्को अध्ययनले पनि यस्ता औषधि प्रयोग गर्दा अत्यधिक मदिरापान गर्ने दिनको संख्या घट्न सक्ने संकेत गरेको छ।
सबैका लागि सुखद अनुभव भने होइन
तर औषधिका कारण मदिराप्रतिको चाहना घट्नु सबै प्रयोगकर्ताका लागि सुखद अनुभव भने भएको छैन। २० वर्षीया फे गुडविनले औषधि प्रयोग गरेपछि मदिरा सेवन गर्दा वाकवाकी लाग्ने र पेट पोल्ने समस्या देखिएको बताएकी छन्। यसले उनको सामाजिक जीवनसमेत प्रभावित भएको उनको गुनासो छ।
स्वास्थ्य विज्ञहरूले भने मदिरा सेवन घटाउनु तौल नियन्त्रण गर्न चाहने व्यक्तिका लागि फाइदाजनक हुन सक्ने बताएका छन्। मदिरामा क्यालोरीको मात्रा धेरै हुने भएकाले यसको सेवन कम गर्दा तौल घटाउने प्रयासमा सहयोग पुग्न सक्ने उनीहरूको भनाइ छ।
लत उपचारका लागि अझै अनुसन्धान आवश्यक
यद्यपि, मोटोपन र मधुमेहका लागि प्रयोग भइरहेका यी औषधिलाई हालसम्म मदिराको लत उपचार गर्ने औषधिका रूपमा मान्यता दिइएको छैन। मदिरा सेवनको समस्या उपचारमा प्रयोग गर्नुअघि ठूला र दीर्घकालीन क्लिनिकल परीक्षण आवश्यक रहेको विज्ञहरू बताउँछन्।
भविष्यमा यस्ता औषधिलाई धूम्रपान तथा अन्य पदार्थको लत कम गर्न प्रयोग गर्न सकिने सम्भावनाबारे पनि अनुसन्धान भइरहेको छ। तर औषधिका गम्भीर साइड इफेक्ट, जस्तै प्यान्क्रियाटाइटिस, हुन सक्ने भएकाले चिकित्सकीय सल्लाहबिना यसको प्रयोग नगर्न विज्ञहरूले चेतावनी दिएका छन्।
