• Sunday 4th of October 2026

इरानबाट हत्याको धम्कीपछि ट्रम्पलाई गोप्य रूपमा सानो विमानबाट बेलायत लगिएको खुलासा


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानी प्रोक्सी समूहबाट हुन सक्ने सुरक्षा खतराका कारण गत महिना टर्कीबाट गोप्य रूपमा सानो विमानमार्फत बेलायत लगिएको खुलासा भएको छ।

‘द वासिङ्टन पोस्ट’का अनुसार गत जुलाई ८ मा ट्रम्प टर्कीको राजधानी अङ्काराबाट एयर फोर्स वनमार्फत बेलायततर्फ प्रस्थान गर्ने क्रममा देखिएका थिए। तर उनी ठूलो विमानबाट बाहिरिएर सानो सी–३२ए विमानमार्फत बेलायत पुगेको दाबी गरिएको छ।

एक अज्ञात अमेरिकी अधिकारीलाई उद्धृत गर्दै वासिङ्टन पोस्टले ट्रम्पलाई एयर फोर्स वनसँगै जोडिएको खानपान सामग्री बोक्ने कन्टेनरमार्फत सानो विमानसम्म पुर्‍याइएको जनाएको छ। यस क्रममा सञ्चारमाध्यमका प्रतिनिधि तथा केही अधिकारीलाई ट्रम्प अझै एयर फोर्स वनमै रहेको विश्वास दिलाइएको बताइएको छ।

ठूलो विमानमा रहेका पत्रकारहरूलाई समेत झ्यालका पर्दा बन्द गर्न भनिएको थियो। सुरक्षा संवेदनशीलताका कारण यस्तो गोप्य स्थानान्तरण गरिएको हुन सक्ने बताइएको छ।

यसअघि पनि अमेरिकी सञ्चारमाध्यमहरूले इरानी प्रोक्सी समूहबाट हुन सक्ने खतराका कारण ट्रम्पले कतारले अमेरिकालाई उपहार दिएको नयाँ बोइङ ७४७–८ विमान प्रयोग नगरेको उल्लेख गरेका थिए।

नेटो शिखर सम्मेलनमा सहभागी हुन अङ्कारा पुगेका ट्रम्पले बेलायतस्थित अमेरिकी सेनाका सदस्यलाई नयाँ विमान देखाउने उद्देश्यले पुरानो बोइङ ७४७ प्रयोग गर्ने बताएका थिए। तर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै अन्तिम समयमा विमान परिवर्तन गरिएको बताइएको थियो।

कतारको शाही परिवारले ट्रम्पको अनुरोधपछि अमेरिकालाई उक्त विलासी बोइङ ७४७–८ विमान उपहार दिएको थियो। विमानलाई अमेरिकी राष्ट्रपतिको प्रयोगका लागि तीव्र रूपमा पुनःसंरचना गरिएको भए पनि त्यसमा पुरानो एयर फोर्स वनमा उपलब्ध सबै सुरक्षा प्रणाली, विशेषगरी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली, नभएको भन्दै प्रश्न उठेको थियो।

वासिङ्टन पोस्टले सार्वजनिक गरेको भिडिओमा ट्रम्प ठूलो एयर फोर्स वनमा सिँढी चढेको केही मिनेटपछि पुरानो विमानबाट खानपान सामग्री बोक्ने ट्रक बाहिरिएको देखिन्छ। उक्त ट्रकलाई सानो सी–३२ए विमानतर्फ लगिएको पनि भिडिओमा देखिन्छ।

दुवै विमान बेलायतमा अवतरण गरेपछि ट्रम्प ठूलो विमानबाट ओर्लिएको देखिन्छ। त्यसपछि उनी नयाँ रूपमा पुनःसंरचना गरिएको एयर फोर्स वनमा पुगेका थिए। यद्यपि ट्रम्पलाई सानो विमानबाट ठूलो विमानमा कसरी सारिएको थियो भन्ने विषय भने स्पष्ट नभएको वासिङ्टन पोस्टले जनाएको छ।

ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङले ट्रम्प र उनका कर्मचारीको सुरक्षाका लागि उच्चस्तरीय सुरक्षा प्रोटोकल लागू गरिएको बताएका छन्। उनले ट्रम्पले अमेरिकाका धेरै शत्रु रहेको र तीमध्ये धेरैको निशाना आफू रहेको बताउँदै त्यस्ता खतरासँग जुध्न सरकारले उपलब्ध सबै साधन प्रयोग गरिरहेको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖