• Sunday 4th of October 2026

भुटानका दुई मन्त्रीले दिए राजीनामा


  • धनकुटा खबर
  • .

भुटान । भुटानका गृह मामिला मन्त्री ल्योन्पो छेरिङ र ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री ल्योन्पो गेम छेरिङले पदबाट राजीनामा दिएका छन्।

भुटानी प्रधानमन्त्री कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै दुवै मन्त्रीको राजीनामाबारे जानकारी दिएको हो। प्रधानमन्त्रीको सिफारिसमा राजा जिग्मे खेसर नाम्ग्याल वाङ्चुकले दुवै मन्त्रीको राजीनामा स्वीकृत गरिसकेको जनाइएको छ।

भुटानको संविधान तथा ल्हेङ्ग्ये झुङ्छोग ऐन, २०२१ अनुसार राजीनामा स्वीकृत गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। पदबाट राजीनामा दिए पनि दुवै जना संसद् सदस्यका रूपमा भने निरन्तर रहनेछन्।

गृह मामिला मन्त्री छेरिङले ‘व्यक्तिगत विषयका कारण उच्च नैतिकताका आधार’मा राजीनामा दिएको बताइएको छ। सुशासन, सार्वजनिक विश्वास र संस्थागत इमानदारीका उच्च मापदण्ड कायम राख्न आफू पदबाट अलग भएको उनको भनाइ रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

त्यस्तै, ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री गेम छेरिङले उमेरका कारण तथा नयाँ पुस्तालाई नेतृत्वको उच्च जिम्मेवारीका लागि तयार पार्दै सहज नेतृत्व हस्तान्तरण गर्ने उद्देश्यले राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री कार्यालयले दुवै मन्त्रीले सरकारमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनीहरूको सेवाप्रति आभार व्यक्त गरेको छ। गृह मामिला मन्त्री छेरिङको सार्वजनिक विश्वास कायम राख्ने नैतिक प्रतिबद्धता तथा गेम छेरिङको नयाँ पुस्ताको नेतृत्व विकासमा रहेको योगदानको समेत प्रशंसा गरिएको छ।

यद्यपि, दुवै मन्त्रीले राजीनामा दिनुपर्ने अन्य कुनै विशेष कारण भने विज्ञप्तिमा खुलाइएको छैन।

रिक्त भएका दुवै मन्त्रालयमा चाँडै नयाँ मन्त्री नियुक्तिका लागि कानुनअनुसार राजकीय स्वीकृति लिन सिफारिस पठाइने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖