काठमाडौं, ३० साउन । घरमा यत्तिकै परेको पुरानो प्लास्टिकको बोतल फाल्नुको सट्टा तपाईं त्यसलाई एउटा सुन्दर र उपयोगी ‘ह्यान्ड वास डिस्पेन्सर’ मा परिणत गर्न सक्नुहुन्छ।
यसको सबैभन्दा राम्रो पक्ष भनेको यसलाई बनाउन धेरै खर्च लाग्दैन। एउटा पुरानो बोतल, लिक्विड सोप पम्प र थोरै सिर्जनात्मकताको प्रयोग गरेर तपाईं आफ्नो घरका लागि नयाँ डिस्पेन्सर तयार पार्न सक्नुहुन्छ। यसलाई अझ आकर्षक देखाउन तपाईं सिसाका टुक्राहरूले सजाउन पनि सक्नुहुन्छ।
यो बनाउनका लागि तपाईंलाई एउटा पुरानो प्लास्टिक वा सिसाको बोतल, पुरानो लिक्विड साबुन वा स्याम्पुको बोतलको पम्प, एउटा ग्लु गन र सजावटका लागि नीलो तथा सेतो रङका सिसाका टुक्राहरू आवश्यक पर्छन्। बोतल अड्याउनका लागि तपाईं सानो स्ट्यान्डको प्रयोग पनि गर्न सक्नुहुन्छ।
पुरानो बोतललाई राम्ररी धुनुहोस् र पूर्ण रूपमा सुकाउनु होस्। त्यसपछि पम्पका लागि प्लास्टिकको नलीलाई बोतलको गहिराइ अनुसार काट्नुहोस् ताकि यो सजिलै पिँधसम्म पुग्न सकोस्।
त्यस पछि बोतलको बिर्कोको बीच भागमा पम्पको आकार अनुसारको प्वाल पार्नुहोस्। प्वाल पार्दा सावधानी अपनाउनु होस्। त्यसमा पम्प राख्नुहोस् र आवश्यक परेमा त्यसको छेउछाउमा ग्लु लगाएर बन्द गर्नुहोस्।
यदि तपाईं आफ्नो घरका लागि डिस्पेंसर तयार पार्दै हुनुहुन्छ भने बोतलमा लिक्विड ह्यान्ड वास भर्नुहोस् र यसको बिर्को कसिलो गरी बन्द गर्नुहोस्। त्यसपछि, यसलाई स्ट्यान्डमा राख्नुहोस्, वरिपरिको भागमा नीलो र सेतो रङका सिसाका टुक्राहरू भर्नुहोस् र तिनमा केमिकल खन्याउनु होस्। अब तपाईंको ‘ह्यान्ड वास डिस्पेंसर’ प्रयोगका लागि तयार छ।
