• Sunday 4th of October 2026

धुर्मुस अमेरिका फर्किए, भने–– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु


  • धनकुटा खबर
  • .

काठमाडौँ । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिका फर्किएका छन्। नेपालमा दुई महिना बसेर चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासँग जोडिएको समस्या समाधानका लागि प्रयास गरे पनि सफल हुन नसकेको उनले बताएका छन्।

सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिँदै कट्टेलले रंगशालाका लागि विनियोजित बजेटसमेत फ्रिज हुने अवस्था आएको उल्लेख गरेका छन्। उनले आफूले राज्यका विभिन्न निकायमा पुगेर समस्या समाधानका लागि पहल गरे पनि आफ्नो आवाज नसुनिएको गुनासो गरेका छन्।

‘यो पटक त शतप्रतिशत न्याय पाउनेछौँ, आफ्नै माटोमा दुःख–सुख साट्नेछौँ र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौँ भन्ने ठूलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिएँ,’ उनले लेखेका छन्।

नेपाल बसाइका क्रममा आफूले दुई महिना निरन्तर प्रयास गरेको बताउँदै उनले भनेका छन्, ‘दुई महिना अथक प्रयास गरेँ, राज्यका ढोका–ढोका पुगेँ, न्यायको आशामा राज्यलाई गुहारेँ। तर न राज्यले आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ।’

उनका अनुसार समस्या समाधान हुनुको सट्टा रंगशालाका लागि विनियोजन गरिएको १५ करोड रुपैयाँसमेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आएको छ।

कट्टेलले १८ करोड ४३ लाख रुपैयाँको ऋणको भार, अधुरा सपना र मनभरिको पीडा बोकेर मातृभूमि छोड्न बाध्य भएको बताएका छन्।

‘आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ,’ उनले भनेका छन्, ‘देशमा इमानदारीका साथ केही गरौँ, आफ्नै माटोलाई केही दिऔँ भन्ने सपना देख्नेहरूको नियति सायद यस्तै हुँदो रहेछ।’

समाज र राष्ट्रका लागि आफ्नो १० वर्षको उर्वर समय समर्पण गरेको स्मरण गर्दै उनले राज्यबाट पाएको ‘प्रोत्साहन’प्रति कटाक्षसमेत गरेका छन्।

यद्यपि राज्यले कुनै दिन आफूहरूको समस्या बुझ्ने र सत्य बाहिर आउने आशा अझै जीवित रहेको उनले बताएका छन्।

‘मन निकै भारी भएको छ, ओठ कापेका छन्, आँखा रसाएका छन्, तर हृदयको कुनै कुनामा आशा अझै बाँकी छ। कुनै दिन राज्यले सम्झिनेछ, समयले सत्य बोल्नेछ,’ उनले लेखेका छन्।

कट्टेलले आफ्नो पीडा सुनिने, संघर्षको मूल्य बुझिने र देशप्रतिको भावनाको कदर हुने दिनको प्रतीक्षा रहेको उल्लेख गर्दै चाँडै पुनः नेपाली दर्शकमाझ फर्किने आशासमेत व्यक्त गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖