• Sunday 4th of October 2026

तेलको मूल्यमा गिरावट


  • धनकुटा खबर
  • .

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ।

एसियाली बजारमा पनि सुरुआती कारोबारमा अधिकांश प्रमुख सूचक ओरालो लागेका छन्। दक्षिण कोरियाको प्रविधि क्षेत्र केन्द्रित कोस्पी सूचकाङ्क एक दशमलव चार प्रतिशतले घटेको छ। टोकियो, साङ्घाई, ताइपेई र वेलिङ्टनका बजारमा पनि गिरावट आएको छ भने सिड्नी, जकार्ता र बैङ्ककमा वृद्धि देखिएको छ। मनिला र क्वालालम्पुरका बजार भने स्थिर रहेका छन्।

कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानीकर्ताको चासो बढिरहेका बेला विश्वकै मूल्यवान कम्पनीमध्ये एक अमेरिकी चिप निर्माता एनभिडियाको आगामी आम्दानी प्रतिवेदनप्रति पनि बजारको ध्यान केन्द्रित भएको छ। एआई प्रविधिको तीव्र विस्तारले कम्पनीहरूको उच्च लगानीलाई निरन्तरता दिन सक्ने वा नसक्ने विषयमा लगानीकर्ता आशावादी र चिन्तित दुवै देखिएका छन्।

एसपीआई एसेट म्यानेजमेन्टका स्टेफन इनिसले एआई क्षेत्रमा लगानी जारी रहे पनि त्यसको लागत बढ्दै गएको बताए। उनका अनुसार एनभिडियाले ठूलो लगानीबाट प्रतिफल प्राप्त गर्न सक्ने क्षमता प्रमाणित गर्नुपर्ने चुनौती छ।

चिनियाँ प्रविधि कम्पनी अलिबाबाले पनि एआई क्षेत्रमा लगानी विस्तार गर्न हङकङमा १० दशमलव दुई अर्ब अमेरिकी डलर बराबरको नयाँ सेयर निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ। कम्पनीले उक्त रकम आफ्नो विश्वव्यापी एआई पूर्वाधार र प्रविधि विस्तारमा प्रयोग गर्ने जनाएको छ।

हङकङको सेयर बजार सोमबार दुई प्रतिशतभन्दा बढीले घटेको छ। ‘फास्ट फेसन’ कम्पनी शिनले आगामी सेप्टेम्बर १ मा हङकङमा सेयर सूचीकरण गर्ने घोषणा गरे पनि बजारमा त्यसको सकारात्मक प्रभाव देखिएन। कम्पनीको सूचीकरणबाट मूल्याङ्कन करिब २७ अर्ब डलर पुग्ने अनुमान गरिएको छ।

यसैबिच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि थप आर्थिक दबाब बढाउने योजनाबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिने अपेक्षा गरिएको छ। अमेरिकाले आफ्ना सहयोगी राष्ट्र तथा चीनलाई पनि उक्त अभियानमा सहभागी हुन आग्रह गरेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानमाथि आर्थिक दबाब बढाउने योजना ‘नाजुक नृत्य’ जस्तै भएको टिप्पणी गरेका छन्। बेसेन्टले चीनलाई पनि अमेरिकी अभियानमा सहमत हुन आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य दुई दशमलव तीन प्रतिशतले घटेर प्रतिब्यारेल ९२ डलर आसपास पुगेको छ। अमेरिकी कच्चा तेलको मूल्यमा पनि समान दरले गिरावट आएको छ।

लगानीकर्ताको ध्यान यस साता अमेरिकाको ज्याक्सन होलमा हुने केन्द्रीय बैङ्कका अधिकारी, अर्थशास्त्री तथा वित्तीय क्षेत्रका प्रमुखहरूको वार्षिक भेलातर्फ पनि केन्द्रित भएको छ। उनीहरूले अमेरिकी मौद्रिक नीतिको आगामी दिशाबारे थप सङ्केतको अपेक्षा गरेका छन्। अमेरिकी मुद्रास्फीति र बढ्दो सरकारी ऋणका कारण अमेरिकी ट्रेजरी बन्डको प्रतिफलमा वृद्धि भएको छ। अमेरिकाको सङ्घीय ऋण ४० ट्रिलियन डलरभन्दा माथि पुगेको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖