• Sunday 4th of October 2026

रसुवा बाढीबाट जोगिइन् भारतीय अभिनेत्री मानसी


  • धनकुटा खबर
  • .

मुम्बई । नेपालमा आएको आकस्मिक बाढीले ठुलो विनाश निम्त्याएको छ । यस बाढीबाट हजारौँ मानिस प्रभावित भएका छन्, जसमा थुप्रै भारतीय नागरिक पनि परेका छन् । यही बाढीमा भारतीय अभिनेत्री मानसी पारिख भने बाल–बाल जोगिन सफल भएकी छन् ।

हाल उनी कैलाश मानसरोवर यात्रामा छिन् । नेपालमा बाढीको खबर सार्वजनिक भएपछि अभिनेत्रीको सुरक्षालाई लिएर उनका प्रशंसकहरूले चिन्ता व्यक्त गरेका थिए । यद्यपि, उनले आफू पूर्ण रूपमा सुरक्षित रहेको जानकारी दिएकी छन् । उनले माउन्ट कैलाश यात्राका केही तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गर्दै सुरक्षित रहेको जानकारी दिएकी हुन् ।

अभिनेत्री मानसीका अनुसार हाल उनी चीनको एक होटलमा बसिरहेकी छन् । उनले मानसरोवरको किनारमा ध्यान गरेपछि कैलाश पर्वत तर्फको यात्रा सुरु गरेकी हुन् । मानसीले सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेकी छन्, जसमा उनी घोडा चढेर माउन्ट कैलाशतिर प्रस्थान गरिरहेको देख्न सकिन्छ । भिडियोमा उनले साधारण खाना खाएको र आफ्ना सहयात्रीहरूसँग रमाइलो समय बिताएका पलहरू पनि कैद गरिएको छ।

मानसीले भिडियोको क्याप्सनमा तिब्बती संस्कृतिको बारेमा उल्लेख गर्दै लेखेकी छन्, ‘तिब्बती संस्कृति अनुसार ‘इयर अफ द हर्स’ मा कैलाशको पैदल यात्रा गर्नु १३ पटक यात्रा गर्नु बराबर मानिन्छ १ यो वर्ष र यो यात्रा मेरो मनमा सधैँ विशेष रहनेछ ।’ यो ‘इयर अफ द हर्स’ प्रत्येक १२ वर्षमा एक पटक आउने गर्दछ ।

केही दिनअघि सेयर गरिएको अर्को भिडियोमा उनले मानसरोवरको किनारमा ध्यान गर्दाको आफ्नो अनुभव बाँडेकी थिइन् । उनले लेखेकी छन्, ‘अन्ततः मानसरोवर पुगेर यसको किनारमा ४० मिनेट ध्यान गरेँ । हजारौँ वर्षदेखि अटल रहेको त्यो दिव्य दृश्यलाई नियाल्ने अवसर पाएँ ।’

‘हिन्दुस्तान टाइम्स’ सँगको कुराकानीमा मानसीले नेपालको बाढीबाट आफू कसरी जोगिन सफल भएको भन्ने बताएकी छन् । बाढी आएको दिन उनी र उनका सहयात्रीहरू बस मार्फत नौदाना गइरहेका थिए, जहाँबाट उनीहरू अध्यागमन भवन पुग्नुपर्ने थियो ।

‘हामी त्यहाँ जान लागेका थियौँ, तर अहिले त्यो भवन नै बाँकी छैन’, उनले भनिन् ‘हामी केवल २४ घण्टाको फरकले जोगियौँ । त्यहाँ हामी पनि हुन सक्थ्यौँ ।’ उनले ईशा फाउन्डेसनको तीर्थयात्री समूहबाट मात्रै ८० जना मानिसहरू बेपत्ता भएको जानकारी दिएकी छन् ।

मानसी आगामी सेप्टेम्बर १० मा नेटफ्लिक्समा रिलिज हुन लागेको वेब सिरिज ‘चुम्बक’ मा देखिँदैछिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖