चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा कृष्णभीरको पहिरोका कारण यातायात प्रभावित भइरहेका बेला त्रिशूली नदीले सडकको छेउको करिब एक किलोमिटर भाग कटान गरेको पाइएको छ।
सडक डिभिजन भरतपुरका अनुसार नाम्सी खोलाको पुलदेखि करिब एक किलोमिटर नारायणगढतर्फ चेनिज ३१+०५० क्षेत्रमा आइतबार आएको बाढीले त्रिशूली नदीले सडक छेउको भाग कटान गरेको हो।
नदीले सडकको छेउ कटान गरेपछि उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा सुरक्षित रूपमा यात्रा गर्न सडक डिभिजन भरतपुरले आग्रह गरेको छ।
कटानबाट भएको क्षतिको विस्तृत विवरण लिन सडक डिभिजन भरतपुरका डिभिजन प्रमुखको नेतृत्वमा इन्जिनियरसहितको प्राविधिक टोली घटनास्थलतर्फ गएको छ।
प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेपछि कटानबाट भएको क्षति तथा सडकको वर्तमान अवस्थाबारे थप विवरण आउने सडक डिभिजनले जनाएको छ।
