काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको बाढी र जनधनको क्षति र पीडा रसुवा, धादिङ र नुवाकोटको मात्र नभई सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।
‘यो रसुवा, धादिङ र नुवाकोट मात्र होइन,सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो’, प्रधानमन्त्री शाहले सम्बोधनको सुरुमै भने, ‘आज म विशेष जिम्मेवारीसहित यस गरिमामय सार्वभौम संसद्को रोष्ट्रममा उभिएको छु । भदौ १० गते भोटेकोशीमा आएको बाढीले क्षणभरमै हाम्रा आमाबुवा, दिदीबहिनी र दाजुभाइहरू खोसेर लग्यो ।’
यस्तो बेला शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको पनि प्रधानमन्त्रीको भनाइ छ ।
‘मन भक्कानिँदा पनि एकापसमा बिलौना गर्ने समय छैन । सङ्कटको घडीमा देशको नेतृत्वले जनतालाई हिम्मत, आडभरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौ’, प्रधानमन्त्रीले भने, ‘त्यसैले दृढ सङ्कल्प र साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन ।’
प्रधानमन्त्रीले विपद्सँग लडिरहँदा सरकारमाथि केही प्रश्न उठिरहेको भन्दै उनले यो विपद् पूर्वानुमान भन्दा बाहिरको विषय भएको बताएका छन् । उनले विपद्पछि सरकारले गरेका प्रयास र उद्धारबारे जानकारी दिइरहेका छन् ।
