काठमाडौँ । पछिल्लो समय पित्तथैलीमा पत्थरी हुने समस्या धेरै मानिसमा देखिन थालेको छ। पित्तथैली कलेजोको तलपट्टि रहेको सानो अंग हो, जहाँ कलेजोले उत्पादन गर्ने पित्त जम्मा भएर बस्छ।
चिकित्सकका अनुसार पित्तथैलीमा पत्थरी भए पनि सुरुवाती अवस्थामा धेरै मानिसमा कुनै लक्षण नदेखिन सक्छ। यस्तो अवस्थालाई ‘साइलेंट गलब्लाडर स्टोन’ भनिन्छ। लक्षण नदेखिएका सबै पत्थरीमा तत्काल उपचार आवश्यक नपर्न सक्छ।
तर पत्थरीले पित्त बग्ने नलीमा अवरोध पुर्याउन थालेमा अवस्था गम्भीर बन्न सक्छ। त्यसैले पित्तथैलीमा पत्थरी भएको जानकारी भएमा सम्भावित लक्षणलाई बेवास्ता गर्नु हुँदैन।
पेटको माथिल्लो दायाँ भागमा दुखाइ
पित्तथैलीमा पत्थरी हुँदा देखिने सामान्य लक्षणमध्ये पेटको माथिल्लो दायाँ भागमा दुखाइ प्रमुख हो। यस्तो दुखाइ अचानक सुरु हुन सक्छ र कतिपय अवस्थामा निकै तीव्र वा लगातार रहन सक्छ।
पेटको माथिल्लो मध्य भागमा दुखाइ
कतिपय व्यक्तिमा पेटको माथिल्लो मध्य भागमा समेत दुखाइ महसुस हुन सक्छ। विशेषगरी धेरै चिल्लो वा तारेको खाना खाएपछि दुखाइ बढ्न सक्छ। यस्तो दुखाइ ढाड वा दायाँ काँधतर्फ समेत फैलिन सक्छ।
वाकवाकी र बान्ता
पित्तथैलीमा पत्थरी हुँदा पेट दुख्नुका साथै वाकवाकी लाग्ने वा बान्ता हुने समस्या पनि देखिन सक्छ। तर पेट दुख्दैमा, ग्यास वा अपच हुँदैमा पित्तथैलीमा पत्थरी भएको निष्कर्ष निकाल्न भने मिल्दैन। यस्ता लक्षण अन्य विभिन्न कारणले पनि हुन सक्छन्।
कहिले गम्भीर बन्न सक्छ?
पत्थरी पित्तनलीमा पुगेर त्यसलाई अवरुद्ध गरेमा समस्या गम्भीर हुन सक्छ। यस्तो अवस्थामा जन्डिस देखिन सक्छ। जन्डिस हुँदा छाला वा आँखाको सेतो भाग पहेँलो देखिनुका साथै पिसाबको रंग गाढा हुन सक्छ। कतिपय अवस्थामा दिसाको रंग पनि फिक्का देखिन सक्छ।
यी लक्षण देखिए चिकित्सकलाई देखाउनुपर्छ
पेट दुखाइसँगै निम्नमध्ये कुनै लक्षण देखिएमा ढिला नगरी चिकित्सकीय परामर्श लिनु आवश्यक हुन्छ :
* पेट दुखाइ धेरै घण्टासम्म लगातार रहनु वा पटक–पटक दोहोरिनु
* ज्वरो आउनु वा काम्नु
* लगातार बान्ता हुनु
* छाला वा आँखाको सेतो भाग पहेँलो हुनु
* अत्यधिक वा असह्य पेट दुखाइ हुनु
पित्तथैलीको पत्थरीका लक्षण अन्य पाचनसम्बन्धी समस्यासँग मिल्दोजुल्दो हुन सक्छन्। त्यसैले लक्षणकै आधारमा आफूलाई पत्थरी भएको निष्कर्ष निकाल्नु हुँदैन।
आवश्यक परे चिकित्सकले अल्ट्रासाउन्डलगायत परीक्षणमार्फत पित्तथैलीमा पत्थरी भए–नभएको तथा अन्य समस्या पहिचान गर्न सक्छन्।
