काठमाडौँ ।फोक्सो श्वासप्रश्वास प्रणालीको महत्वपूर्ण अङ्ग हो। यसको मुख्य काम शरीरमा अक्सिजन भित्र्याउनु र कार्बन डाइअक्साइड बाहिर निकाल्नु हो। तर, फोक्सोका कोष अनियन्त्रित रूपमा बढ्न थालेमा क्यान्सरको जोखिम हुन्छ।
फोक्सोको क्यान्सर समयमै पहिचान र उपचार हुन नसकेमा फोक्सोबाट शरीरका अन्य भागमा समेत फैलिन सक्छ। यसले लिम्फ नोडसहित कलेजो, हड्डी, मस्तिष्कलगायत विभिन्न अङ्गलाई प्रभावित गर्न सक्छ।
फोक्सोको क्यान्सरको अवस्था सामान्यतया चरणका आधारमा मूल्याङ्कन गरिन्छ। ‘टीएनएम’ प्रणालीसहित विभिन्न परीक्षणका आधारमा क्यान्सर कति फैलिएको छ भन्ने निर्धारण गरिन्छ।
पहिलो चरण
पहिलो चरणमा क्यान्सर सामान्यतया फोक्सोमै सीमित हुन्छ। ट्युमर तुलनात्मक रूपमा सानो हुन्छ र वरपरका लिम्फ नोडमा क्यान्सर फैलिएको हुँदैन।
दोस्रो चरण
दोस्रो चरणमा ट्युमरको आकार बढ्न सक्छ र नजिकका लिम्फ नोड प्रभावित हुन सक्छन्। क्यान्सर छातीको भित्तासम्म फैलिनुका साथै मुख्य श्वासनली ‘ब्रोङ्कस’ तथा फोक्सो वरपरका केही संरचनामा असर पार्न सक्छ।
ब्रोङ्कस प्रभावित हुँदा फोक्सोको सम्बन्धित भाग खुम्चिन वा अवरुद्ध हुन सक्छ। एउटै लोबमा अर्को ट्युमरसमेत देखिन सक्ने अवस्था हुन्छ।
तेस्रो चरण
तेस्रो चरणमा क्यान्सरको फैलावट अझ बढ्छ। ट्युमर छातीको भित्तासम्म पुग्न सक्छ भने डायफ्राम, मुटुलाई ढाक्ने तह तथा छातीभित्रका विभिन्न लिम्फ नोड प्रभावित हुन सक्छन्।
केही अवस्थामा क्यान्सर मुटु, श्वासनली, भोजननली वा रक्तनलीजस्ता महत्वपूर्ण संरचनासम्म समेत फैलिन सक्छ।
चौथो चरण
चौथो चरणमा क्यान्सर फोक्सोमा मात्र सीमित रहँदैन। शरीरका अन्य भागमा समेत फैलिएको अवस्था हुन्छ, जसलाई ‘मेटास्टेटिक’ अवस्था भनिन्छ।
यस अवस्थामा कलेजो, हड्डी, मस्तिष्कलगायत अङ्ग प्रभावित हुन सक्छन्। क्यान्सर फैलिएको अवस्था पत्ता लगाउन चिकित्सकले आवश्यकताअनुसार पीईटी–सीटी, मस्तिष्कको एमआरआईलगायत परीक्षण गराउन सक्छन्।
फोक्सोको क्यान्सरका सम्भावित लक्षण
फोक्सोको क्यान्सर सुरुवाती अवस्थामा कुनै स्पष्ट लक्षण नदेखिन पनि सक्छ। क्यान्सर बढ्दै जाँदा भने विभिन्न लक्षण देखिन सक्छन्।
* लगातार खोकी लागिरहनु वा उपचार गर्दा पनि खोकी निको नहुनु
* खोकी लाग्दा रगत आउनु वा खकारमा रगत देखिनु
* सास फेर्न गाह्रो हुनु
* सास फेर्दा घरघर आवाज आउनु
* छाती वा काँध आसपास दुख्नु
* कुनै स्पष्ट कारणबिना तौल घट्नु
* लगातार थकान महसुस हुनु
* भोक कम लाग्नु
* खाना वा अन्य वस्तु निल्न कठिन हुनु
* आवाज धोत्रो हुनु
* पटक–पटक निमोनिया हुनु
* करङ आसपास दुखाइ हुनु
* औँला वा नङको आकारमा असामान्य परिवर्तन देखिनु
यीमध्ये कुनै लक्षण देखिँदैमा फोक्सोको क्यान्सर नै भएको भन्ने हुँदैन। तर, लगातार खोकी, खकारमा रगत आउने, सास फेर्न कठिन हुने वा कारणबिनै तौल घट्ने जस्ता लक्षण देखिएमा चिकित्सकसँग परामर्श गरी आवश्यक परीक्षण गराउनु महत्वपूर्ण हुन्छ।
