• Sunday 4th of October 2026

कोरियामा विदेशी विद्यार्थीलाई ‘केयरगिभर’ तालिम, अझै १ लाख १६ हजार अपुग


  • धनकुटा खबर
  • .

सियोल, २४ भदौ। दक्षिण कोरियामा ज्येष्ठ नागरिक (वृद्धवृद्धा) को हेरचाह गर्ने क्षेत्रमा चरम जनशक्ति अभाव देखिएपछि सरकारले विदेशी विद्यार्थीहरूलाई तालिम दिन थालेको छ।

 

सरकारी तथ्याङ्कअनुसार सन् २०२८ सम्ममा दक्षिण कोरियामा वृद्धवृद्धाको हेरचाह गर्ने करिब १ लाख १६ हजार कामदार (केयरगिभर) को अभाव हुने देखिन्छ।

 

दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०४३ सम्ममा देशलाई थप ९ लाख ९० हजार हेरचाहकर्ताको आवश्यकता पर्नेछ। तीव्र रूपमा बढिरहेको वृद्ध जनसङ्ख्याका कारण उनीहरूको हेरचाह कसले गर्ने भन्ने ठूलो प्रश्न खडा भएको छ।

 

‘कोरिया हेराल्ड’ को रिपोर्टअनुसार ग्योन्गी प्रान्तको याङजुस्थित सियोजोङ विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीहरूले यस्तो तालिम लिइरहेका छन्, जसमा बिरामीहरूलाई कसरी सुरक्षित रूपमा यताउता सार्ने वा उठाउने भन्नेजस्ता व्यावहारिक अभ्यासहरू समावेश छन्।

 

‘कोरियन कन्फेडेरेसन अफ ट्रेड युनियन’ सँग आबद्ध हेरचाहकर्ताहरूको सङ्घका अनुसार करिब २३ लाख मानिसले हेरचाहकर्ताको योग्यता हासिल गरे पनि उनीहरू यस पेसामा कार्यरत छैनन्। श्रम विज्ञहरूका अनुसार समस्या दक्ष जनशक्तिको कमी मात्र नभई यो पेसामा कामको वातावरण र सेवा-सुविधा आकर्षक नहुनु पनि हो।

 

सङ्कट समाधानका लागि विदेशी बासिन्दा र विद्यार्थीहरूलाई आकर्षित गर्नु नीतिगत विकल्प बनेको छ। यद्यपि, विज्ञहरूका अनुसार हेरचाह क्षेत्रको सेवा-सुविधा र कामको अवस्थामा सुधार नगरी केवल विदेशी कामदार भित्र्याउनु मात्र पर्याप्त नहुन सक्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖