• Monday 5th of October 2026

‘राज्य कहाँ छ?’ भन्ने प्रश्नमा रवि लामिछाने : ‘भग्नावशेष र सुरुङभित्र नागरिकको प्राण खोजिरहेको छ’


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकारको भूमिकालाई सत्ता र प्रतिपक्षको परम्परागत राजनीतिक दृष्टिकोणबाट मूल्याङ्कन गर्न नहुने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले विपत्ति सुरु भएलगत्तै सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरेर उद्धार, उपचार तथा राहतको काम अघि बढाएको दाबी गरे ।

उनका अनुसार घाइतेको उद्धार तथा उपचार, विस्थापित परिवारका लागि अस्थायी बसोबासको व्यवस्था र खाद्यान्न उपलब्ध गराउने काममा सरकारले तत्परता देखाएको छ । कठिन भौगोलिक अवस्था, अवरुद्ध सडक, सञ्चार सम्पर्कको समस्या र प्रतिकूल मौसमका बाबजुद उद्धार तथा राहत टोली प्रभावित नागरिकसम्म पुगिरहेको उनले बताए ।

‘कतिपय ठाउँमा बाटो छैन, सञ्चार छैन, मौसम अनुकूल छैन । तर यी सबै चुनौतीका बीच पनि उद्धार तथा राहतकर्मी प्रभावित नागरिकसम्म पुगेका छन्,’ लामिछानेले भने ।

उनले बाढीबाट प्रभावित स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरी उद्धार, राहत र पुनर्स्थापनाको कामलाई प्राथमिकतामा राखिएको बताए । क्षतिग्रस्त सडक, पुल, विद्युत् र खानेपानीजस्ता अत्यावश्यक पूर्वाधार पुनः सञ्चालनका लागि समेत काम भइरहेको उनको भनाइ छ ।

‘राज्य कहाँ छ ?’ भनेर प्रश्न उठाउनेहरूप्रति टिप्पणी गर्दै लामिछानेले विपत्तिको अवस्थालाई भावनात्मक ढंगले चित्रण गरे ।

‘राज्य यतिबेला त्यो कहालीलाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ,’ उनले भने ।

सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका नागरिकका लागि राज्य आश्रय बन्ने प्रयासमा रहेको लामिछानेले बताए । बाढीले बगाएका सडक र पुल पुनर्निर्माण गर्नुका साथै विपत्तिका कारण नागरिकमा कमजोर भएको भरोसा पुनः स्थापित गर्नुपर्नेमा उनले जोड दिए ।

उनले विपत्तिको समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर उद्धार, राहत र पुनर्स्थापनामा सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖