• Sunday 4th of October 2026

जेलेन्स्की सवार विमान ड्रोन आक्रमणबाट थोरैले जोगियो


  • धनकुटा खबर
  • .

काठमाडौं, भदौ २५ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार विमान ड्रोन आक्रमणको जोखिमबाट थोरैले जोगिएको नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरले बताएका छन्।

जेलेन्स्की नर्वेका दिवंगत राजा ह्याराल्ड पाँचौँको अन्त्येष्टिमा सहभागी हुन मोल्डोभा हुँदै ओस्लो जाने क्रममा थिए। नर्वेजियन सार्वजनिक प्रसारक एनआरकेसँग प्रधानमन्त्री स्टोरले मोल्डोभाबाट उडान भर्ने क्रममा जेलेन्स्की सवार विमान ड्रोनको निशानामा पर्नै लागेको बताएका हुन्।

ड्रोनको जोखिमका कारण मोल्डोभाले केही समयका लागि आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेको बताइएको छ। त्यसका कारण जेलेन्स्की सवार विमानको उडानसमेत ढिला भएको थियो। मोल्डोभाको भूभागमा रुसी ड्रोन खसेपछि मात्रै विमानलाई उडान अनुमति दिइएको जनाइएको छ।

अमेरिकी थिंक ट्यांक इन्स्टिच्युट फर द स्टडी अफ वारका अनुसार मंगलबार एउटा रुसी ‘साहेद’ ड्रोन युक्रेनबाट मोल्डोभा हुँदै रोमानियाको हवाई क्षेत्रमा प्रवेश गरेको थियो। उक्त ड्रोन करिब एक घण्टासम्म रोमानियाली हवाई क्षेत्रमा उडेपछि मोल्डोभामा खसेको बताइएको छ।

यद्यपि, यही ड्रोनका कारण जेलेन्स्की सवार विमान जोखिममा परेको हो वा अर्कै ड्रोनबाट खतरा उत्पन्न भएको हो भन्ने स्पष्ट भइसकेको छैन।

युक्रेनी अधिकारी वा राष्ट्रपति जेलेन्स्कीले घटनाबारे अहिलेसम्म सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन्। केही कूटनीतिक स्रोतले भने जेलेन्स्की प्रत्यक्ष रूपमा ड्रोन आक्रमणको जोखिममा परेको दाबीलाई अतिरञ्जित भएको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖