• Monday 5th of October 2026

एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट


  • धनकुटा खबर
  • .

काठमाडौं, २७ भदौ । नेपालमा खाना पकाउने एलपीजी ग्यासको आयातमा एकै दिन ४०.८ प्रतिशतले गिरावट आएको छ। भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार भदौ २५ गतेको तुलनामा भदौ २६ गते एलपीजी ग्यासको आयात उल्लेख्य रूपमा घटेको हो।

भदौ २५ गते ३ हजार ७७.९ मेट्रिक टन एलपीजी आयात भएकोमा भदौ २६ गते घटेर १ हजार ८२२.३ मेट्रिक टनमा सीमित भएको छ। भदौ २६ गतेको आयातबाट करिब १ लाख २८ हजार ३३२ सिलिन्डर बराबर ग्यास आपूर्ति हुने अनुमान छ। अघिल्लो दिन भने करिब २ लाख १६ हजार ७५४ सिलिन्डर बराबरको एलपीजी भित्रिएको थियो।

नाकागत रूपमा हेर्दा सबैभन्दा बढी गिरावट मुख्य प्रवेश नाका वीरगञ्जमा देखिएको छ। वीरगञ्जबाट भदौ २५ गते २ हजार १२९.०१ मेट्रिक टन आयात भएकोमा भदौ २६ गते घटेर ७९७.१ मेट्रिक टनमा झरेको छ। यो अघिल्लो दिनको तुलनामा ६२.६ प्रतिशतको कमी हो।

त्यस्तै, विराटनगर नाकाबाट अघिल्लो दिन ३४५.१३ मेट्रिक टन आयात भएकोमा भदौ २६ गते घटेर ३०६.५ मेट्रिक टन पुगेको छ। मेची नाकाबाट भदौ २६ गते १७.८४ मेट्रिक टन एलपीजी आयात भएको छ भने धनगढी नाकाबाट कुनै पनि मालबाहक गाडी प्रवेश नगरेकाले आयात शून्य रहेको भन्सार विभागले जनाएको छ।

भैरहवा र नेपालगञ्ज नाकाबाट भने आयातमा केही सुधार आएको छ। भैरहवा नाकाबाट भदौ २५ गते ३३८.०९ मेट्रिक टन आयात भएकोमा भदौ २६ गते बढेर ३६४.५ मेट्रिक टन पुगेको छ। त्यसैगरी, नेपालगञ्ज नाकाबाट अघिल्लो दिन २४७.८३ मेट्रिक टन भित्रिएकोमा भदौ २६ गते बढेर २८३.० मेट्रिक टन एलपीजी आयात भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖