• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

सिड्नी स्विनीको ‘अत्यधिक यौनिक’ विज्ञापनप्रति महिला खेलाडीहरूको कडा आपत्ति


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० भदौ। अमेरिकी अभिनेत्री सिड्नी स्विनीलाई खेलकुदका सामग्रीहरूसँग नग्न तथा अर्ध-नग्न अवस्थामा प्रस्तुत गरिएको ‘अत्यधिक यौनिक’ विज्ञापन अभियानलाई लिएर महिला खेलाडीहरूले तीव्र आक्रोश र अविश्वास व्यक्त गरेका छन्।

 

अमेरिकी खेलकुद-अनुमान बजार ब्रान्ड ‘नोभिग’ द्वारा सञ्चालित यो अभियान महिला खेलाडीहरू तथा खेलकुदमा लाग्न चाहने युवा किशोरीहरूका लागि “अत्यन्त हानिकारक” रहेको अस्ट्रेलियाली सर्फर फेलिसिटी पाल्माटिरले सीएनएनसँगको अन्तर्वार्तामा बताएकी छन्।

 

सार्वजनिक गरिएका तस्बिर र भिडियोहरूमा स्विनीलाई अमेरिकी फुटबल, टेनिस र्‍याकेट र बेसबल ब्याट समातेर नग्न वा निकै कम कपडामा देखाइएको छ। एउटा तस्बिरमा उनी बास्केटबलमाथि नग्न अवस्थामा पल्टिएकी छन्। नोभिगले आफ्नो इन्स्टाग्राम रिल्समा पोस्ट गरेको यो विज्ञापनलाई चार दिनमै ३ करोड ७० लाख अर्थात ३७ मिलियन भन्दा बढी पटक हेरिसकिएको छ।

 

यस अभियानको कडा आलोचना गर्दै सर्फर पाल्माटिरले भनिन्, “यो ४२ सेकेन्डको विज्ञापनले महिला खेलकुदलाई कति धेरै पछाडि धकेल्न सक्छ भन्ने कुरा स्पष्ट पार्छ। हामी हाम्रो रूप-रङ वा शरीरका लागि होइन, बरु प्रतिभा र प्रदर्शनका आधारमा सम्मानित हुन चाहन्छौँ।”

 

यसैगरी, अस्ट्रेलियाकी चारपटककी ओलम्पिक पौडीबाज एरियन टिटमसले पनि आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत आक्रोश व्यक्त गरेकी छन्। सीएनएनको सहयोगी संस्था ‘९न्यूज’ का अनुसार उनले लेखेकी छन्, “म यसलाई थप चर्चा दिलाउन चाहन्नथेँ, तर यस्तो दृश्य हेरेर म चुप लागेर बस्न सक्दिनँ।”

 

कुनै विज्ञापन अभियानका कारण स्विनी विवादमा परेको यो पहिलो पटक भने होइन। सन् २०२५ को गर्मीयाममा अमेरिकी कपडा ब्रान्ड ‘अमेरिकन ईगल’ को अभियानमा देखा पर्दा उनीमाथि ‘युजेनिक्स’ र श्वेत सर्वोच्चतावादलाई बढावा दिएको आरोप लागेको थियो।

 

उक्त विवादबारे पछि जीक्यू म्यागजिनसँगको अन्तर्वार्तामा स्विनीले मानिसहरूको प्रतिक्रियाबाट आफू आश्चर्यचकित भएको तर माफी नमाग्ने स्पष्ट पारेकी थिइन्। 

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖