काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साहले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई ‘क–कसलाई लालबकैयामा गाड्नुपर्ने हो ?’ भन्दै प्रश्न गरेकी छन्।
सोमबार सार्वजनिक अपिल गर्दै उनले बालेनले काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा सफाइ कर्मचारीको तलब एक साताभित्र भुक्तानी नभए सबैलाई टुकुचामा गाडिदिने अभिव्यक्ति दिएको स्मरण गराइन्।
मेयर साहका अनुसार मौलापुरका कर्मचारीको २ देखि ८ महिनासम्मको तलब, जनप्रतिनिधिको चार महिनाको सुविधा र वडा सञ्चालन खर्च आठ महिनादेखि भुक्तानी हुन सकेको छैन।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाका प्रशासनिक काम, विकास निर्माण तथा नागरिक सेवा प्रभावित भएको उनको भनाइ छ। उनले तत्काल प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न प्रधानमन्त्री शाहसँग आग्रह गरेकी छन्।
