गोविन्द खड्का,घोराही । हेलिकप्टर जस्तै आवाज निकालेर पैदल यात्रुलाई तर्साउने मोटरसाइकललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले कारवाही थालेको छ ।
बुधवारसम्म १८ वटा मोडिफाइ गरेका बाइक नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख किरणप्रकाश मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर नागवेली गुड्ने, ध्वनि प्रदूषण हुनेगरी आवाज निकाल्ने मोटरसाइकललाई कारवाही चलाइएको छ । ‘ब्लुबुकमा भए अनुसारबाहेक सवारी साधनको स्वरुप परिवर्तन गर्न पाइँदैन’– प्रमुख मल्लले भन्नुभयो– ‘हामीले पहिलो पटकलाई अधिकतम एक हजार पाँच सय जरिवाना गर्छौं । नमान्नेलाई यातायातमा पठाइदिन्छौं त्यहाँ पाँचदेखि सात हजार जरिवाना हुन्छ ।’
उहाँका अनुसार साइलेन्सर उचाल्नेदेखि मोडिफाई सम्बन्धी केही पनि गर्न पाइँदैन । पैदल यात्रुलाई आतंकित बनाएको, शान्तसँग घर पसलमा बसेकालाई कानै थुन्नुपर्ने गरी डिष्टर्व गरेको, नागबेली गुड्ने मोटरसाइकलबाट ज्यानै जोगाउन मुस्किल भएको गुनासा आएका थिए । ‘त्यसरी आतंकित पार्ने बाइकलाई सिसिटिभि फुटेज हेरेर नम्बर एकिन गर्छौं’– मल्लले भन्नुभयो– ‘पछ््याउँदै गएर भए पनि प्रहरीले कारवाही गर्छ ।’ उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयसँग संयुक्त चेकिङ बसेर पनि कारवाही गर्छ । चेकिङ पनि फरक–फरक र नपत्याउँदा ठाउँमा बस्ने गरेको छ । भाग्ने अवस्था नराखिने मल्लको भनाइ छ ।
विद्यालय अस्पताल आसपामा पनि एक्सीलेटर बटारेर ध्वनि निकाल्ने, हर्न बजाउन र ध्वनि प्रदूषण हुनेगरी आवाज दिन पाइँदैन । कहीं कतैबाट सवारी साधनले भ्वालेन्स गरेको गुनासो आए प्रहरीले तत्काल कारवाही गर्छ ।
-नयां युगबोध
