काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षमा रहेर १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका नेताहरू सभापति गगन थापातिर खुल्न तयार भएका छन्।
थापाले सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेका छन्। दिउँसो २ बजे बस्ने बैठकमा देउवा पक्षमा रहेका ५० नेता सहभागी हुने रामहरि खतिवडाले जानकारी दिए।
देउवा पक्षले चुनदेवीमा छुट्टै कार्यालय राखेर आगामी असोज १५ गतेदेखि १५औँ महाधिवेशनको कार्यक्रम अघि बढाउने निर्णय गरिसकेको छ।
यद्यपि, थापाले केही दिनअघि बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट १४औं महाधिवेशनका केन्द्रीय सदस्यलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय सदस्य बराबर हैसियत दिने निर्णय गरेपछि देउवा पक्षका नेताहरू सानेपा बैठकमा सहभागी हुन तयार भएको खतिवडाले दाबी गरे। ‘४०-५० जनानै सानेपा जाने हुनुभयो,’ उनले नेपालखबरसँग भने।
देउवा पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्की पनि सानेपा बैठकमा जाने भएका छन्। थापाले देउवा पक्षका सबै नेतालाई बैठकमा सहभागी हुन निमन्त्रणा गरेका छन्।
यसकारण पनि देउवा पक्षमा रहेका नेताहरू गगनतिर खुल्न थालेको उनले बताए।
