• Sunday 4th of October 2026

द ग्रेजोनको रिपोर्टबारे सरकारसँग जवाफ माग्दै एमाले सांसद पोखरेल


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित केही नेताको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको भनी प्रकाशित समाचारबारे सरकारसँग जवाफ माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पोखरेलले केही दिनअघि अमेरिकी सञ्चारमाध्यम ‘द ग्रेजोन’ले रास्वपासहित केही नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाको भूमिका रहेको दाबी गर्दै रिपोर्ट प्रकाशित गरेको उल्लेख गरे।

द ग्रेजोनले सेप्टेम्बर ९ मा प्रकाशित रिपोर्टमा CEPPS तथा त्यससँग आबद्ध संस्थाहरूले नेपालमा युवा राजनीतिक नेतृत्व विकासका कार्यक्रम सञ्चालन गरेको र केही वर्तमान राजनीतिक नेताहरूलाई ‘catalytic civic leaders’ का रूपमा उल्लेख गरेको दाबी गरेको छ। रिपोर्टले ती कार्यक्रम अमेरिकी सरकारको सहयोगसँग जोडिएको उल्लेख गरेको छ।

सांसद पोखरेलले उक्त रिपोर्टमा उठाइएका विषयबारे सरकार र नाम जोडिएका नेताहरूले जवाफ दिनुपर्ने बताए।

उनले गत वर्ष भदौ २३ र २४ गते भएका आगजनी तथा हिंसात्मक घटनामा तालिमप्राप्त समूहको संलग्नता र विभिन्न रासायनिक पदार्थ प्रयोग भएको विषयसमेत बाहिर आएको दाबी गर्दै ती घटनासँग पछिल्लो रिपोर्टको सम्बन्धबारे स्पष्ट पार्नुपर्ने माग गरे।

‘द ग्रेजोनले प्रकाशित गरेका तथ्यहरूबारे कसले जवाफ दिने हो ? प्रधानमन्त्री बालेन्द्र शाहसहित राष्ट्रिय स्वतन्त्र पार्टीका केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दाबी गरिएको छ। सभामुख महोदय, यसको जवाफ चाहिन्छ,’ पोखरेलले भने।

उनले सरकार र रिपोर्टमा नाम जोडिएका व्यक्तिहरूले उठेका प्रश्नबारे जवाफ दिनुपर्ने बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖