• Sunday 4th of October 2026

घट्यो ग्यासको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिक्री वितरण हुँदै आएको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ। पृथ्वी राजमार्गमा यातायात सुचारु भएसँगै नेपाल एलपी ग्यास उद्योग सङ्घले साबिककै मूल्य अर्थात् प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा ग्यास बिक्री वितरण गर्न निर्देशन दिएको हो । घटेको मूल्य यही असोज २ गते शुक्रबारदेखि लागू हुनेछ ।

गत भदौ १४ गते आइतबार कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको भीषण बाढीले पृथ्वी राजमार्गको केही खण्ड कटान गरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । मुख्य राजमार्ग अवरुद्ध हुँदा उपत्यकामा ग्यास आपूर्ति गर्ने उद्योगीहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका ग्यास उद्योगहरूबाट सिलिन्डर रिफिल गरी वैकल्पिक (लामो) मार्गबाट ग्यास ल्याउनु परेको थियो ।

वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा लागत बढेको भन्दै सङ्घले गत भदौ १८ गते एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले तोकेको मूल्य २,०६० रुपैयाँमा १०५ रुपैयाँ ३८ पैसा ढुवानी भाडा जोडेर प्रतिसिलिन्डर २,१६५ रुपैयाँ ३८ पैसामा बिक्री गर्न उद्योगीहरूलाई भनेको थियो ।

तर, अहिले अवरुद्ध सडक खण्डमा वैकल्पिक ट्र्याक खोलेर यातायात सुचारु भएसँगै एल.पी.ग्यासका बुलेटहरू सामान्य रूपमै काठमाडौँ आउन थालेका छन्। वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने बाध्यता हटेसँगै सङ्घले थपिएको ढुवानी भाडा हटाउने निर्णय गरेको हो ।

नेपाल एलपी ग्याँस उद्योग सङ्घका अध्यक्ष दिवान चन्दद्वारा जारी परिपत्रमा काठमाडौँ उपत्यकामा ग्यास बजारीकरण गर्ने सम्पूर्ण उद्योगीहरूलाई शुक्रबारदेखि निगमले तोकेको मूल्य रु.२,०६० भन्दा नबढाई बिक्री वितरण गर्न र आफ्ना विक्रेता (डिलर) हरूलाई पनि सोही अनुसार जानकारी गराउन कडा निर्देशन दिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖