• Sunday 4th of October 2026

देउवालाई गगनको निम्तो, जालान् त महाधिवेशनकाे उद्घाटनमा ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गएको छ । सभापति गगनकुमार थापा नेतृत्वको कांग्रेसले असोज ३ गतेदेखि महाधिवेशन प्रक्रिया सुरु गरी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका छ ।

तर, पूर्वसभापति शेर बहादुर देउवाले भने गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट बनेको नेतृत्वलाई अस्वीकार गर्दै संस्थापन पक्षले अघि सारेको महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेताकार्यकर्तालाई केहीदिन अघि आह्वान गरेका छन्। उनले आफू १४औँ महाधिवेशनबाट निर्वाचित सभापति भएकाले पार्टी नेतृत्व हस्तान्तरण गर्ने वैधानिक, राजनीतिक तथा नैतिक जिम्मेवारी आफूमा रहेको अपिलमा उल्लेख गरेका छन् ।

यता सभापति थापाले भने देउवालाई महाधिवेशनमा सहभागी हुन सार्वजनिक रूपमै निम्तो दिएका छन्। बिहीबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले असोज १६ गते हुने महाधिवेशनको उद्घाटन पूर्वसभापति देउवाले गरिदिए आफूहरूका लागि सम्मानको विषय हुने बताएका हुन् ।
“अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ,” थापाले भने ।

महाधिवेशनको मिति नजिकिँदै जाँदा देउवा पक्षमा रहेका केही प्रभावशाली नेताहरू थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा समाहित भएका छन्। पूर्वसभापति देउवा नेतृत्वको कार्यसमितिमा रहेका नेताहरूलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने निर्णयपछि देउवा पक्षका चार दर्जन नेता महाधिवेशन प्रक्रियामा सहभागी हुने बताउँदै सानेपामा बिहीवार पुगेका हुन् ।

सानेपामा बिहीवार भएकाे केन्द्रिय समिति बैठकमा देउवाका विश्वासपात्रका रुपमा परिचित ज्ञानेन्द्रबहादुर कार्की, महालक्ष्मी उपाध्याय ‘डिना’, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, जीवनबहादुर शाही, इन्द्रबहादुर बानियाँ, सुरेन्द्रराज पाण्डे,सुशिला थीङ ,गणेश लामासहितका नेताहरू सहभागी थिए ।

देउवा समूहमा रहेका प्रभावशाली नेताहरूको ठूलो संख्या मूलधारमा फर्किएपछि देउवाको समानान्तर महाधिवेशन अभियानमा रहेका नेताहरूको संख्या घटेको देखिन्छ।
देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।

कांग्रेसका दुवै पक्षले आ–आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाइरहेका बेला दुवै कार्यतालिका रोक्न माग गरिएको रिटसमेत सर्वोच्च अदालतले दरपीठ गरिसकेको छ।
अब महाधिवेशनको मिति नजिकिँदै जाँदा देउवाको निर्णयले कांग्रेसको आन्तरिक राजनीतिमा थप घटनाक्रम निर्धारण गर्ने देखिएको छ। तसर्थ प्रश्न उठेको छ—गगन थापाको निम्तो स्वीकार गर्दै देउवा असोज १६ गतेको महाधिवेशन उद्घाटनमा पुग्लान्, कि आफ्नै पक्षले तय गरेको मंसिरको महाधिवेशनतर्फ अघि बढ्लान् ?

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖