काभ्रे । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नेकपा एमालेसँग तत्काल पार्टी एकता हुने र पद बाँडफाँट हुने भन्ने हल्ला निराधार रहेको बताएका छन्।
शनिबार काभ्रेको बनेपामा नेकपा खानीखोला सम्पर्क समितिले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै पुनले एमालेसँग तत्काल एकता हुने विषयमा कुनै सत्यता नरहेको स्पष्ट पारे।
उनले भविष्यमा एमालेसँग एकता हुन सक्ने सम्भावनाबारे नेतृत्व तहमा प्रारम्भिक छलफल भने भइरहेको जानकारी दिए। एमालेसँग प्रदेश सरकारहरूमा सहकार्य भइसकेको उल्लेख गर्दै पुनले संविधान र लोकतन्त्रको रक्षा तथा वैदेशिक हस्तक्षेपको प्रतिवादका लागि वाम शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए। आवश्यक परे नेपाली कांग्रेससँग पनि सहकार्य जारी रहने उनको भनाइ थियो।
एमालेभित्रको आन्तरिक बहस टुंगिन बाँकी रहेकाले तत्कालै पार्टी एकता सम्भव नरहेको पुनले बताए।
उनले संविधान निर्माणमा कुनै त्याग, बलिदान वा भूमिका नरहेका शक्तिहरू अहिले सरकारमा पुगेको टिप्पणी गर्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधानबारे आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नुपर्ने माग गरे।
सरकारप्रति जनताका अपेक्षा धेरै भए पनि त्यसअनुसार परिणाम आउन नसक्दा नागरिकमा आक्रोश बढ्दै गएको उनले बताए।
राजदूत नियुक्ति प्रक्रियामा सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाउँदै पुनले पुराना व्यवस्थाका व्यक्तिहरूलाई राजदूतमा सिफारिस गरिएको भन्दै आलोचना गरे। नयाँ भनिएका राजनीतिक दलहरू पुरानालाई शुद्ध पार्ने ‘वासिङ मेसिन’ जस्तो बनेको उनको टिप्पणी थियो।
रसुवामा भएको विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सरकारले उदासीनता देखाएको आरोप लगाउँदै पुनले असन्तुष्टि व्यक्त गरे। नेताहरूले आफ्ना कमी–कमजोरी स्वीकार गर्दै सुधार गर्नुपर्ने र गुमेको जनविश्वास पुनः प्राप्त गर्न लाग्नुपर्नेमा उनले जोड दिए।
