काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले वर्तमान सरकारविरुद्ध दशैं, तिहार र छठपछि जनविद्रोह हुनसक्ने दाबी गरेका छन्।
शनिबार नेकपा गण्डकी प्रदेश सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पुनले सरकार स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवार ढंगले अघि बढिरहेको आरोप लगाए।
सरकार जनताका आधारभूत समस्या समाधान गर्न असफल भएको दाबी गर्दै उनले प्राकृतिक विपत्तिपछिको उद्धार तथा राहत, किसानलाई मल उपलब्ध गराउने, सर्वसाधारणलाई ग्यासको सहज आपूर्ति तथा बढ्दो महँगी नियन्त्रणमा सरकारको प्रभावकारी भूमिका नदेखिएको बताए।
सरकारको कार्यशैलीप्रति जनतामा आक्रोश र निराशा बढिरहेको दाबी गर्दै पुनले सम्भावित आन्दोलनको नेतृत्व तथा व्यवस्थापनका लागि पार्टी पंक्तिलाई अहिलेदेखि नै तयारी अवस्थामा रहन आग्रह गरे।
सरकारको कार्यशैलीका कारण राष्ट्रियता र राष्ट्रिय स्वाधीनता कमजोर बन्दै गएको आरोप लगाउँदै उनले स्वाधीनताको रक्षाका लागि समेत जनता सडकमा उत्रिनुपर्ने अवस्था आएको बताए।
