काठमाडौं । बंगालको खाडीमा विकास हुनसक्ने चक्रवात तथा त्यसबाट विकसित हुने मौसमी प्रणालीको प्रभाव नेपालमा समेत पर्न सक्ने मौसमविद्ले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार बंगालको खाडीमा न्यूनचापीय प्रणाली विकास हुने पूर्वानुमान रहे पनि हालसम्म चक्रवातको निश्चित स्वरूप बनिसकेको छैन।
बंगालको खाडीमा चक्रवात बनेर जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै उत्तर–पश्चिमतर्फ सर्दा त्यसको परिधीय प्रभाव नेपालमा पर्न सक्ने उनले बताए। तर मौसमी प्रणाली अझै विकासकै चरणमा रहेकाले अहिले नै यसको प्रभाव र वर्षाको मात्रा यकिन गर्न नसकिने उनको भनाइ छ।
लामिछानेका अनुसार उक्त मौसमी प्रणालीको प्रभाव नेपालमा करिब चारदेखि पाँच दिनसम्म रहन सक्ने देखिएको छ। असोज ५ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा बदली, हल्का वर्षा तथा केही क्षेत्रमा भारी वर्षासमेत हुनसक्ने सम्भावना रहेको उनले बताए।
तर कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने विवरण मौसमी प्रणालीको विकाससँगै क्रमशः स्पष्ट हुँदै जाने मौसमविद्को भनाइ छ।
मौसमविद् लामिछानेले मौसमी प्रणालीको प्रभावबारे विभागले विशेष बुलेटिन तथा चेतावनी नक्सामार्फत नियमित जानकारी गराउने बताए।
धान भित्र्याउने समय भएकाले किसानलाई मौसमको पूर्वानुमान हेरेर आवश्यक सावधानी अपनाउन उनले आग्रह गरेका छन्।
बंगालको खाडीमा चक्रवात बन्ने चर्चाका आधारमा अहिले नै ठूलो वर्षा वा क्षतिको निष्कर्ष निकाल्न नसकिने उनले स्पष्ट पारे।
