जापान । भारतीय मिक्स्ड मार्शल आर्ट्स खेलाडी वरुण सान्याल एसियाली खेलकुदबाट बाहिरिएका छन् ।
७७ केजी तौल समूहको क्वार्टर फाइनल खेल्नुअघि नै चिकित्सकहरूले उनलाई ‘मेडिकली अनफिट’ घोषित गरेपछि उनी प्रतियोगिताबाट बाहिरिएका हुन् ।
खेलका लागि तौल घटाउने क्रममा साउना बाथ लिँदा वरुणको स्वास्थ्य अचानक बिग्रिएको थियो र उनी बेहोश भएका थिए । त्यही समयमा एक नेपाली खेलाडीले उनलाई देखेर तुरुन्त मेडिकल टोलीलाई खबर गरेका थिए । मेडिकल टोलीले उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्याएको दैनिक भाष्करले लेखेको छ । यद्यपि नेपाली खेलाडी को थिए त्यो भने समाचारमा खुलाइएको छैन ।
स्वास्थ्य जाँचपछि चिकित्सकहरूले उनलाई प्रतिस्पर्धाका लागि अनफिट घोषित गरे । सोही कारण वरुणले बहराइनका मुखम्मद नबियेवविरुद्धको क्वार्टर फाइनल खेल खेल्न पाएनन् ।
बाई पाएका कारण उनी सिधै क्वार्टर फाइनलमा प्रवेश गरेका थिए ।
२७ वर्षीय वरुणले लन्डनबाट मुम्बई र सिंगापुर हुँदै लामो यात्रा तय गरेर जापान पुगेका थिए । तर, नागोया पुगेपछि उनले ठुलो सास्ती खेप्नुपर्यो । एक्रेडिटेशन सम्बन्धी प्राविधिक समस्याका कारण उनले गेम्स भिलेजमा कोठा पाउन १० घण्टाभन्दा बढी कुर्नुपरेको थियो ।
कोठा पाइसकेपछि पनि उनी समस्यामुक्त भएनन् । उनलाई दिइएको कोठामा अन्य दुई भारतीय खेलाडीले पनि आफ्नो दाबी गरेपछि विवाद भएको समाचारमा उल्लेख छ । यसले गर्दा उनले विश्राम गर्ने समय निकै कम पाएका थिए ।
वरुण सान्याल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार संजीव सान्यालका छोरा हुन् । घटनाको जानकारी पाउने बित्तिकै एमएमए इन्डियाका अध्यक्ष निखिल कुन्दर र भारतीय अधिकारीहरू उनलाई भेट्न पुगेका थिए ।
