• Sunday 4th of October 2026

भारी वर्षाको जोखिम : बिहीबारदेखि राति र टाढाको यात्रा नगर्न यातायात महासंघको आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि १२ असोजसम्म रातको समयमा तथा लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ।

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै अत्यावश्यक कामबाहेक टाढाको यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको हो। यातायात सेवा सञ्चालन गर्नुअघि सडकको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिनसमेत महासंघले आफ्ना सदस्य तथा यातायात व्यवसायीलाई आग्रह गरेको छ।

यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि प्रतिकूल मौसमका कारण जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन सम्बन्धित निकाय तथा सर्वसाधारणलाई अनुरोध गरिसकेको थियो।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखा तथा बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षाका कारण साना–ठूला नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिमसमेत रहेको महाशाखाले जनाएको छ।

वर्षाका कारण नदी प्रणालीमा जलसतह उल्लेख्य बढ्न सक्ने भएकाले नदी तथा खोलाको तटीय र अन्य जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

सोही अवस्थालाई मध्यनजर गर्दै महासंघले यातायात सञ्चालन गर्दा सडक र मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न व्यवसायी तथा चालकलाई सचेत गराएको हो।

लगातार वर्षाका कारण सडकमा बाढी, डुबान तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न र यात्रा गर्नैपर्ने भएमा मौसम तथा सडकको पछिल्लो अवस्था बुझेर मात्र अघि बढ्न आग्रह गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖