• Sunday 4th of October 2026

एल निनोका कारण आगामी फेब्रुअरीसम्म साढे ४ लाखभन्दा बढीको मृत्यु हुन सक्ने


  • धनकुटा खबर
  • .

सिकागो । यस वर्षको शक्तिशाली एल निनोका कारण बढेको अत्यधिक गर्मी, खडेरी, डढेलो र पानीको अभावले आगामी फेब्रुअरीको अन्त्यसम्म विश्वभर थप करिब चार लाख ५१ हजार जनाको मृत्यु हुन सक्ने एक अध्ययनले चेतावनी दिएको छ।

युनिभर्सिटी अफ सिकागोस्थित क्लाइमेट इम्प्याक्ट ल्याबका अनुसन्धानकर्ताहरूले जुन २०२६ देखि फेब्रुअरी २०२७ सम्म एल निनोका कारण हुने अतिरिक्त गर्मीजन्य मृत्युको यस्तो अनुमान गरेका हुन्। जलवायु परिवर्तन, खाद्य असुरक्षा र बढ्दो ऊर्जा लागतको सामना गरिरहेका गरिब तथा विकासोन्मुख देशहरूमा यसको प्रभाव बढी पर्ने अध्ययनले जनाएको छ।

अध्ययनका सहसंस्थापक माइकल ग्रीनस्टोनका अनुसार एल निनो फेब्रुअरीसम्म अन्त्य हुने अपेक्षा गरिए पनि त्यसको गर्मीजन्य प्रभाव त्यसपछि पनि रहन सक्छ। पहिल्यै तातो रहेका क्षेत्रमा तापक्रम थप बढ्दा जोखिम निकै उच्च हुने उनले स्पष्ट पारेका छन्।

अनुसन्धानकर्ताहरूले विश्वका २४ हजारभन्दा बढी क्षेत्रमा उच्च तापक्रमले मृत्युदरमा पार्ने प्रभावसम्बन्धी तथ्याङ्कलाई मौसमी तापक्रम पूर्वानुमानसँग तुलना गरेका थिए। अध्ययनअनुसार अफ्रिकाको साहेल क्षेत्र सबैभन्दा बढी प्रभावित हुने र त्यहाँ करिब ६६ हजार ८०० अतिरिक्त मृत्यु हुन सक्ने अनुमान छ। त्यसैगरी, फिलिपिन्स, भियतनाम, थाइल्यान्ड र कम्बोडियामा गरी १९ हजार ४००, इन्डोनेसियामा १९ हजार ३००, भारतमा १५ हजार ८०० र ब्राजिलमा १३ हजार ३०० अतिरिक्त मृत्यु हुन सक्ने प्रक्षेपण गरिएको छ।

गर्मीबाट हुने जोखिम घटाउन गर्मीसम्बन्धी पूर्वसूचना प्रणाली, शीतलन केन्द्र, पानी तथा स्वास्थ्य सेवा, बाहिरी कामदारका लागि सुरक्षा र वृद्धवृद्धा एवं अन्य जोखिममा रहेका समूहलाई लक्षित सहायता आवश्यक रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। अत्यधिक गर्मी सुरु हुनुअघि नै स्रोत परिचालन गर्न अग्रिम वित्तीय तयारी गर्नसमेत उनीहरूले सुझाव दिएका छन्।

एनआरडीसी इन्डियाका ताप विशेषज्ञ अभियनन्त तिवारीका अनुसार यस प्रतिवेदनलाई त्रास फैलाउनेभन्दा पनि तत्कालको तयारी र प्रभावकारी कार्यान्वयनका लागि सचेत गराउने माध्यमका रूपमा लिनुपर्छ। उनले भने, ‘तयारीको वास्तविक मापन हामीले कति चेतावनी जारी गर्छौँ भन्ने होइन, मानिसलाई कति प्रभावकारी रूपमा सुरक्षित राख्छौँ र रोक्न सकिने मृत्यु कति घटाउँछौँ भन्ने कुरा हो।’

एल निनो प्राकृतिक जलवायु प्रणाली भए पनि यस वर्षको शक्तिशाली रूप पहिले नै तातिरहेको पृथ्वीमा देखिएको छ। क्लाइमेट इम्प्याक्ट ल्याबका अनुसार यस अवधिमा विश्वव्यापी भूमि तापक्रम सामान्य वर्षको तुलनामा करिब १.२ डिग्री सेल्सियस बढी हुन सक्छ र गर्मीका दिन ४४ प्रतिशतसम्म बढ्न सक्छन्। यसले आगामी दशकहरूमा जलवायु परिवर्तनका कारण देखिन सक्ने गर्मीको भयावह अवस्थाको पूर्वसङ्केतसमेत दिएको अनुसन्धानकर्ताहरूको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖