काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले प्रधान कार्यालयमा कार्यरत कर्मचारीलाई सार्वजनिक बिदाका दिनसमेत काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ।
हालको मौसम तथा सम्भावित विपद्को अवस्थालाई मध्यनजर गर्दै प्रधान कार्यालयमा कार्यरत स्ट्यान्डबाई ड्युटीबाहेकका कर्मचारीलाई समेत उपत्यका बाहिर नजान निर्देशन दिइएको हो।
प्रधान कार्यालयले सार्वजनिक बिदाका दिनसमेत आवश्यक परेको अवस्थामा तत्काल कार्यालयमा उपस्थित हुन सक्ने गरी सम्पर्कमा रहन कर्मचारीलाई निर्देशन दिएको जनाएको छ।
सम्भावित विपद्को प्रतिकार्य तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन प्रधान कार्यालयमा समेत ठुलो सङ्ख्यामा सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ। आवश्यकताअनुसार तत्काल परिचालन गर्न सकिने गरी जनशक्ति तयारी अवस्थामा राखिएको प्रधान कार्यालयले जनाएको छ।
सशस्त्र प्रहरी बल, नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको हो।
