• Sunday 4th of October 2026

पुरुषको शरीरमा भेटियो पाठेघर


  • धनकुटा खबर
  • .

भारतको नयाँ दिल्लीमा २६ वर्षीय एक पुरुष विवाह भएको दुई वर्षपछि सन्तान नभएको समस्या लिएर चिकित्सककहाँ आए । परीक्षणका क्रममा चिकित्सकहरूले उनको शरीरभित्र पाठेघर र फलोपियन ट्युब रहेको पत्ता लगाए ।

तर बाहिरबाट हेर्दा उनको शरीर सामान्य पुरुषको जस्तै थियो र पुरुषमा देखिने सबै शारीरिक विशेषताहरू पनि थिए । उनमा शरीरभित्र पाठेघरको कुनै लक्षण थिएन ।

दिल्लीस्थित एक निजी अस्पतालमा उनको उपचार गरेका प्रमुख युरोलोजिस्ट डा. सुशील खरबन्दाका अनुसार, बाँझोपनको कारण पत्ता लगाउने क्रममा गरिएको परीक्षणबाट उनको शरीरभित्र पाठेघर र फलोपियन ट्युबसमेत रहेको देखिएको थियो ।

चिकित्सकहरूका अनुसार यो पर्सिस्टेन्ट म्युलरियन डक्ट सिन्ड्रोम (पीएमडीएस) नामक अत्यन्त दुर्लभ जन्मजात अवस्था हो । अहिलेसम्म विश्वभर यसका ३०० भन्दा कम घटना अभिलेख गरिएको बताइएको छ ।

नेचर रिभ्यु युरोलोजीमा प्रकाशित एक रिपोर्टअनुसार, पीएमडीएस भएका व्यक्तिको क्रोमोसोम ४६एक्सवाई हुन्छ र शरीर सामान्यतया पुरुषका रूपमा विकसित हुन्छ, तर म्युलरियन डक्टबाट बन्ने पाठेघर र फलोपियन ट्युबजस्ता अङ्गहरू शरीरभित्रै रहन्छन् ।

जनवरी २०२६ मा ‘ग्लोबल जर्नल अफ सर्जरी एन्ड केस रिपोट्र्स’मा प्रकाशित एक रिपोर्टमा ४८ वर्षीय पुरुषमा पटक–पटक पिसाब लाग्ने र वीर्यमा रगत देखिने समस्याको परीक्षणका क्रममा सीटी स्क्यानबाट पाठेघरजस्तो संरचना भेटिएको उल्लेख छ ।

शल्यक्रियाका क्रममा प्रोस्टेटसँग जोडिएको दुई भाग भएको उक्त संरचना हटाइएको थियो । हिस्टोप्याथोलोजिकल परीक्षणले त्यो पाठेघरको तन्तु भएको पुष्टि गरेको थियो । ती बिरामीको शारीरिक विकास पनि सामान्य पुरुषको जस्तै थियो ।

त्यसैगरी, सन् २०१९ को एउटा रिपोर्टमा डेढ वर्षका एक बालकको शरीरभित्र पाठेघर, फलोपियन ट्युब र अण्डाशयजस्ता संरचना भेटिएको उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖