काठमाडौं, १४ असोज। इरानको न्यायपालिकाको आधिकारिक समाचार एजेन्सी ‘मिजान’ का अनुसार, सर्वोच्च अदालतबाट मृत्युदण्डको सजाय सदर भएपछि बुधबार बिहान अली हेम्मती र माजिद निकान्दिशलाई फाँसी दिइएको छ।
इरानभर फैलिएको राष्ट्रव्यापी विरोध प्रदर्शनका क्रममा उनीहरूलाई गत ८ जनवरीमा मशहदको तबारसी क्षेत्रबाट पक्राउ गरिएको थियो। सुरक्षा बलका चार जनाको ज्यान जाने गरी भएको हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरू दोषी ठहरिएका थिए।
मिजानका अनुसार, ८ जनवरीको रात मशहदमा प्रदर्शनकारीहरूले पसल, बैंक, बस तथा सार्वजनिक सम्पत्तिमा आगजनी गर्नुका साथै सुरक्षा बललाई रोक्न सडकहरू अवरुद्ध पारेका थिए। हेम्मतीले अशान्तिका क्रममा मोलोटोभ ककटेल (पेट्रोल बम) प्रहार गरी पसलमा आगो लगाएको र ‘बासिज’ अर्थात अन्तर्गतको स्वयंसेवक अर्धसैनिक सङ्गठनका सदस्यलाई छुरा प्रहार गरेको स्वीकार गरेका थिए।
त्यसैगरी, निकान्दिशले बैंकमा आगो लगाएको, सम्पत्ति तोडफोड गरेको र बासिज सदस्यमाथिको आक्रमणमा संलग्न रहेको स्वीकार गरेका थिए। मृत्युदण्डको सजाय पाउनुअघि ती दुवै जनाको मुद्दामा वकिलहरूको उपस्थितिमा सुनुवाइ भएको थियो र पछि सर्वोच्च अदालतले उक्त सजाय सदर गरेको थियो। अदालतले कुचानका २५ वर्षीय निकान्दिशलाई ‘मोहारेबेह’ (ईश्वरविरुद्ध युद्ध छेडेको) आरोपमा मृत्युदण्डको सजाय सुनाएको थियो।
प्राप्त जानकारी अनुसार, सर्वोच्च अदालतबाट सजाय सदर भई सम्पूर्ण कानुनी प्रक्रिया पूरा भएपछि उनीहरूलाई मृत्युदण्ड दिइएको हो।
