• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

प्रिटोरियसले तोडे क्रिस गेलको रेकर्ड


  • धनकुटा खबर
  • .

केप टाउन । दक्षिण अफ्रिकाका युवा ब्याटर लुआन-ड्रे प्रिटोरियसले पुरुष टी-२० क्रिकेटको इतिहासमा सर्वोच्च व्यक्तिगत रनको कीर्तिमान कायम गरेका छन्।

सीएसए टी-२० च्यालेन्जअन्तर्गत ब्लुमफोन्टिनमा टाइटन्सका लागि नाइट्सविरुद्ध खेल्दै २० वर्षीय प्रिटोरियसले मात्र ७९ बलमा अविजित १८८ रनको विष्फोटक पारि खेले। उनी टी-२० इतिहासमै पहिलो दोहोरो शतक बनाउनबाट केवल १२ रनले चुके।

आफ्नो टी-२० करिअरको तेस्रो शतक प्रहार गर्ने क्रममा प्रिटोरियसले रोयल च्यालेन्जर्स बेंगलुरुका लागि रोयल च्यालेन्जर्स बेंगलुरुबाट खेल्दै क्रिस गेलले सन् २०१३ मा पुणे वारियर्सविरुद्ध बनाएको अविजित १७५ रनको १३ वर्ष पुरानो रेकर्ड तोडेका हुन्।

आक्रामक सुरुआत गरेका देब्रेहाते ओपनर प्रिटोरियसले २४ बलमा अर्धशतक र त्यसको १६ बलपछि शतक पूरा गरेका थिए। उनले ५८ बलमा १५० रनको आँकडा पार गरे। सामना गरेको बलका आधारमा पुरुष टी-२० इतिहासकै सबैभन्दा लामो पारी खेल्ने क्रममा उनले एरोन फिन्च र मार्कस स्टोइनिसको कीर्तिमानसँग बराबरीसमेत गरे।

भिडन्तमा नाइट्सका सबै बलरविरुद्ध हाबी भएका प्रिटोरियसले १३ छक्का र १५ चौका प्रहार गरे। नाइट्सका सबै बलरको इकोनोमी रेट ११ वा सोभन्दा बढी रह्यो।

प्रिटोरियसको यस ऐतिहासिक पारिको मद्दतमा टाइटन्सले ३ विकेट गुमाएर २६७ रनको विशाल योगफल खडा गर्‍यो, जुन यस प्रतियोगिताको इतिहासमै दोस्रो ठुलो टोली योगफल हो। यसअघि सन् २०२२ मा यही टोलीविरुद्ध टाइटन्सले नै ३ विकेटको क्षतिमा २७१ रन बनाएको थियो।

सोही खेलमा देवाल्ड ब्रेभिसले बनाएको १६२ रन नै यस प्रतियोगिताको सर्वोच्च व्यक्तिगत रन रहँदै आएकामा प्रिटोरियसले त्यसलाई पनि पछाडि पारे। सीएसए टी-२० च्यालेन्जको इतिहासमा शीर्ष पाँच टोली योगफलको रेकर्ड अहिले टाइटन्सकै नाममा छ।

२०२६-२७ सिजनको पहिलो खेलमै प्रिटोरियसले यो चमत्कारिक प्रदर्शन गरेका हुन्। यसअघि सेप्टेम्बरमा जिम्बाब्वे र नामिबिया सम्मिलित त्रिकोणीय शृङ्खलामा उनले क्रमशः ९४ र १०१ रनको उत्कृष्ट पारि खेलेका थिए।

अन्तर्राष्ट्रिय स्तरमा हालसम्म २२ खेल मात्र खेलेका प्रिटोरियसको यो ९१ औँ टी-२० खेल हो, जहाँ उनको स्ट्राइक रेट १५०.४४ रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖