बुटवल । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली फायर हुँदा बुटवलका एक युवक घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पेस्तोल र गोलीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देवदह नगरपालिका–५ मा ४२ वर्षीय दीपक खरेल भनिने दुर्गाप्रसाद खरेलले पेस्तोलबाट एक राउन्ड गोली फायर गरेका थिए।
गोली फायर हुँदा बुटवल उपमहानगरपालिका–९ मिलनचोकका २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका छन्। गोली लागेर उनको दाहिने गालाको छाला च्यातिएको प्रहरीले जनाएको छ। खत्रीको देवदह मेडिकल कलेज, भलुहीमा उपचार भइरहेको छ।
घटनापछि प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले दुर्गाप्रसाद खरेलसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा देवदह–५ मितेरी गाउँका खरेल, ३८ वर्षीय कमल शर्मा र १८ वर्षीय अमृत खरेल रहेका छन्।
प्रहरीले खरेलको साथबाट एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
