• Monday 5th of October 2026

सुरेन्द्र पाण्डे, हृदयेश त्रिपाठी लगायत मिलेर नयाँ नागरिक अभियानको घोषणा गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । पूर्वमन्त्री सुरेन्द्र पाण्डे, हृदयेश त्रिपाठी, दीपकुमार उपाध्यायलगायतको पहलमा नयाँ नागरिक अभियान घोषणा हुने भएको छ।

सोमबार दिउँसो ३ बजे ललितपुरको पुल्चोकस्थित द प्लाजामा अभियान घोषणा गर्न भेला आयोजना गरिएको छ। आयोजकका अनुसार अभियान गैरराजनीतिक र नागरिक समाजको पहलका रूपमा अघि बढाइनेछ। अभियानमा अरुणकुमार सुवेदी र सर्वेन्द्रनाथ शुक्लसमेत छन् ।

पूर्वमन्त्री हृदयेश त्रिपाठीका अनुसार अभियानमा समाजका विभिन्न क्षेत्रका व्यक्ति सहभागी हुनेछन्। चिकित्सक, इन्जिनियर, प्राध्यापक, पूर्वसचिव, पूर्वराजदूत तथा पत्रकारलगायतलाई अभियानमा समेट्ने तयारी छ।

त्रिपाठीले पछिल्लो समय समाज पुराना र नयाँ राजनीतिक दलको बीचको मनोविज्ञानमा सीमित हुँदै गएको भन्दै तटस्थ र निष्पक्ष रूपमा नागरिकका विषयमा धारणा राख्ने स्वतन्त्र नागरिक संस्थाको आवश्यकता देखिएको सोमबार बिहान रातोपाटीलाई बताए ।

उनका अनुसार अहिलेको पहल राजनीतिक क्षेत्रका केही व्यक्तिले सुरु गरे पनि यसको उद्देश्य राजनीतिक दल वा संगठन बनाउनु नभई नागरिक समाजलाई विस्तार गर्नु हो।

‘पद्मरत्न तुलाधर र देवेन्द्रराज पाण्डेपछि स्वतन्त्र नागरिक समाजको त्यस्तो प्रभावकारी संस्था देखिएन, जसले निष्पक्ष र तटस्थ रूपमा विभिन्न विषयमा खबरदारी गर्न सकोस्,’ त्रिपाठीले भने, ‘हामीले खाली सुरुवातको पहल लिएका हौँ।’

उनले आफूहरू करिब दुई महिनादेखि विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल र सम्पर्कमा रहेको र त्यसैको परिणामस्वरूप सोमबारको भेला आयोजना गरिएको बताए।

अभियानले सरकार तथा राजनीतिक दललाई विभिन्न सार्वजनिक विषयमा खबरदारी गर्ने र नागरिकका सरोकारलाई तटस्थ रूपमा उठाउने उद्देश्य राखेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖