• Tuesday 6th of October 2026

नाकबाट ब्रेन ट्युमर निकालियो, दृष्टि गुमाएकी बिरामीको आँखाको ज्योति फर्कियो


  • धनकुटा खबर
  • .

सञ्जय मिश्रा/रौतहट २० असोज। भारत बिहार पूर्वी चम्पारणको मोतिहारीस्थित स्टेशन रोड निवासी प्रसिद्ध न्युरो सर्जन डा. प्रकाश खेतानले चिकित्सा क्षेत्रमा अर्को महत्वपूर्ण सफलता हासिल गरेका छन्।

प्रयागराजस्थित आफ्नै सुपर स्पेसियालिटी अस्पतालमा डा. खेतानले नाकको बाटो हुँदै एन्डोस्कोपिक विधिबाट ब्रेन ट्युमर निकाल्न सफल भएका हुन्। जटिल मानिने उक्त शल्यक्रियामा बिरामीको टाउकोको हड्डी नखोली नाकको बाटोबाट दूरबिन (एन्डोस्कोप) प्रवेश गराएर ट्युमर निकालिएको हो। शल्यक्रियापछि ट्युमरको दबाबका कारण प्रभावित भएको बिरामीको आँखाको दृष्टिसमेत पूर्णरूपमा फर्किएको बताइएको छ।

डा. खेतानका अनुसार वरिष्ठ चिकित्सकहरूको टोलीले एन्डोस्कोपिक ट्रान्सनेजल ट्रान्सफेनोइडल सेलर–सुप्रासेलर पिट्युटरी म्याक्रोएडेनोमाको सफल शल्यक्रिया गरेको हो। पिट्युटरी ग्रन्थिमा रहेको ट्युमर निकै ठूलो भइसकेको थियो। ट्युमरले आँखाको नसामा दबाब दिँदा बिरामीको दृष्टि निरन्तर कमजोर हुँदै गएको थियो। यस्तो अवस्थामा गरिने शल्यक्रिया जटिल मानिन्छ।

यस प्रविधिमा टाउकोको हड्डी खोलेर मस्तिष्कसम्म पुग्नुको सट्टा नाकको बाटोबाट एन्डोस्कोप प्रवेश गराई ट्युमरसम्म पुगिन्छ। यसबाट मस्तिष्क खोल्नुपर्ने आवश्यकता पर्दैन। डा. खेतानको टोलीले यही प्रविधिबाट ट्युमर हटाएको हो। शल्यक्रियापछि बिरामीको दृष्टि फर्किनुलाई उपचारको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
प्रयागराजको नैसीपुर निवासी बिरामी विजया कुमारीका पति विजयबहादुरले शल्यक्रियापछि डा. खेतानप्रति आभार व्यक्त गर्दै भने, ‘डा. खेतान हाम्रा लागि भगवान् हुनुहुन्छ। उहाँले हाम्रो परिवारलाई बचाउनुभयो।’

बताइएअनुसार कर्पोरेट अस्पतालमा यस्तो जटिल शल्यक्रियाका लागि करिब १५ देखि २० लाख रुपैयाँसम्म खर्च लाग्ने गर्छ। तर डा. खेतानले उक्त शल्यक्रिया निकै कम खर्चमा सफलतापूर्वक गरेको जनाइएको छ। उनको यो सफलतापछि उत्तर प्रदेशका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यले फोन गरेर बधाई दिएका छन्। विभिन्न वरिष्ठ क्याबिनेट मन्त्रीहरूले समेत उनलाई शुभकामना दिएका छन्।

डा. प्रकाश खेतानको नाम ठूलो ब्रेन ट्युमर निकाल्नेलगायत विभिन्न जटिल शल्यक्रियाका कारण यसअघि नै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ज रहेको बताइएको छ। लिम्का बुकसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेकर्डसमेत उनको नाममा रहेको जनाइएको छ।

मोतिहारीको स्टेशन रोडमा जन्मिएका डा. खेतानका पिता स्वर्गीय पशुपतिनाथ खेतान र आमा स्वर्गीय सावित्री खेतान शहरका प्रतिष्ठित समाजसेवीका रूपमा परिचित थिए। प्रयागराजमा सुपर स्पेसियालिटी अस्पताल सञ्चालन गर्दै आएका डा. खेतान हरेक महिना चार दिन मोतिहारी आउने गर्छन्। उनले आफ्ना आमाबुवाको स्मृतिमा बिरामीको सेवा गर्दै आएको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖