काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ उपसभापति पदका लागि दिएको उम्मेदवारी फिर्ता लिने भएका छन्। पार्टी सभापति गगन थापासँग भेटवार्तापछि रिजालले उपसभापतिको प्रतिस्पर्धाबाट पछि हट्ने निर्णय गरेका हुन्।
मंगलबार उम्मेदवारी दर्ता गरेपछि रिजालले सभापति थापासँग भेट गरेका थिए। भेटका क्रममा थापाले उनलाई पदाधिकारीको प्रतिस्पर्धामा नरही पार्टीभित्रै रहेर योगदान गर्न आग्रह गरेका थिए। थापाले रिजालको अनुभव र ज्ञान नयाँ पुस्ताका लागि आवश्यक रहेको भन्दै पार्टीलाई अघि बढाउन उनको भूमिका महत्वपूर्ण हुने बताएका थिए।
भेटपछि रिजालले आफूले व्यक्तिगत पदका लागि उम्मेदवारी नदिएको स्पष्ट पार्दै कांग्रेसको पुनर्निर्माण र सुदृढीकरणमा योगदान गर्नु आफ्नो प्राथमिकता रहेको बताएका छन्। उनले थापाको नेतृत्वलाई सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका छन्।
रिजालले पछिल्लो राजनीतिक परिस्थितिमा कांग्रेसलाई नयाँ ढंगले अघि बढाउन गगन थापाबाट सम्भव भएको र त्यसका लागि आफूले सहयोग गर्ने बताएका छन्। उनले अब पद खोजिरहने आफ्नो राजनीतिक यात्रा टुंगिएको संकेतसमेत गरेका छन्।
रिजालले बुधबार औपचारिक रूपमा उपसभापतिको उम्मेदवारी फिर्ता लिने तयारी गरेका छन्। कांग्रेस महाधिवेशनमा उपसभापति पदका लागि उम्मेदवारी फिर्ताको समयसीमा बुधबार रहेको छ भने मतदान बिहीबार हुने कार्यतालिका छ।
खुलातर्फ उपसभापति पदमा रिजालसहित चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र चन्द्रमोहन यादवले उम्मेदवारी दर्ता गरेका थिए।
