काठमाडौँ । विमानभित्र सहपाइलटको आक्रमणका बाबजुद १७४ यात्रु तथा चालक दलका सदस्यको ज्यान बचाएको भन्दै भारतीय पाइलट स्मित मच्छारलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने भएको छ।
इजरायलका राष्ट्रपति इसाक हर्जोगले मच्छार पूर्ण रूपमा निको भएपछि उनलाई ‘प्रेसिडेन्सियल अवार्ड फर सिभिलियन हिरोइज्म’ प्रदान गरिने बताउनुभएको छ।
गत सेप्टेम्बर ३० मा दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईको विमानमा ओमानी सहपाइलटले ककपिटभित्र क्याप्टेन मच्छारमाथि धारिलो हतियार प्रहार गरी आक्रमण गरेका थिए। त्यसपछि यात्रु र चालक दलका सदस्यले आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए।
३४ हजार फिटको उचाइमा भएको घटनापछि विमान तीव्र गतिमा तल झरेर १६ हजार ६०० फिटमा पुगेको विवरण सार्वजनिक भएको थियो। आपत्कालीन संकेत जारी गर्दै साउदी अरेबियातर्फ मोडिएको विमानलाई सुरक्षित अवतरण गराइएको थियो।
घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पाइलट मच्छारको बहादुरीको प्रशंसा गरेका थिए।
