• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट गगन कुमार थापा नयाँ सभापतिमा निर्वाचित भएका छन्। महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न मतदानको मतगणना काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा राति अबेरसम्म चलेर भर्खरै सकिएको हो।

महाधिवेशन मिडिया सेन्टरका सदस्य महेश गौतमका अनुसार अन्तिम मतपरिणाम अनुसार नवनिर्वाचित सभापति थापाले ६ हजार ५८४ मत प्राप्त गरी शानदार जित हासिल गरेका हुन्।

उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत मात्र प्राप्त गरे। निर्वाचन समितिका अनुसार कुल ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिहरू रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेका थिए, जसमध्ये ५४ मत बदर भएको थियो।

नेपाली कांग्रेसको नेतृत्वमा थापाको यो विजयलाई ऐतिहासिक पुस्तान्तरण र रूपान्तरणका रूपमा हेरिएको छ। नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै राजनीतिमा उदाएका थापा १४ औं महाधिवेशनमा भारी मतका साथ महामन्त्री निर्वाचित भएका थिए।

स्वास्थ्य मन्त्रीका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका थापा युवा पुस्तामाझ लोकप्रिय नेता मानिन्छन्। पार्टीभित्र नीतिगत र सांगठनिक सुधारको एजेन्डा बोक्दै आएका थापाको सभापति पदमा आगमनसँगै कांग्रेस राजनीतिमा नयाँ अध्यायको सुरुवात भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖