सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कूलस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
आज नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना.१ ज ६३०८ नम्बरको म्याजिक जिपले विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०२-०१० प २२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक मलंगवा नगरपालिका–७ गणेशिया निवासी ३० वर्षीय अरविन्द साह गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा बिहान ९:२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न म्याजिक चालक हरिपुर नगरपालिका–२ हरिपुर बजार निवासी ३३ वर्षीय नजामुदिन बैठालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
