• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्पको ऊर्जा युद्धविराम घोषणा लगत्तै रुसको आक्रमण, युक्रेनका ऊर्जा पूर्वाधारमा क्षति


  • धनकुटा खबर
  • .

मस्को, २७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच ऊर्जासम्बन्धी युद्धविराममा सहमति भएको घोषणा गरेको केही घण्टाभित्रै रुसले युक्रेनका ऊर्जा केन्द्रहरूमा आक्रमण गरेको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्।

 

आइतबार ट्रम्पले उक्त युद्धविराम तत्काल लागू हुने बताएका भए तापनि युक्रेनी राष्ट्रपतिले रुसले ग्यास स्टेसन, ऊर्जा पूर्वाधार र अन्य संरचनाहरूमा आक्रमण जारी राखेको जानकारी दिए।

 

युक्रेनको सरकारी समाचार संस्था ‘उक्रिनफर्म’ का अनुसार रुसी आक्रमणले विद्युत् ग्रिडहरू ध्वस्त पारेपछि इज्युमसहरमा विद्युत् आपूर्ति बन्द भएको थियो। साथै, रातको समयमा पश्चिमी युक्रेनका ऊर्जा तथा रेलमार्गसम्बन्धी पूर्वाधारहरूलाई पनि निशाना बनाइएको थियो। जेलेन्स्कीले देशभरका ऊर्जा संरचनाहरूमा भएका आक्रमणमा परी ३३ जना घाइते भएको बताए।

 

उनले फक्स न्युजसँग भने, “हामीले आक्रमण गरेनौँ, जबकि रुसले हाम्रा ग्यास स्टेसन, ऊर्जा पूर्वाधार र अन्य संरचनाहरूमा आक्रमण गर्‍याे, “मलाई लाग्छ, यो राष्ट्रपति ट्रम्पप्रति पुटिनको जवाफ थियो,” उनले थपे।

 

विश्वव्यापी द्वन्द्वका कारण अमेरिकी मध्यावधि निर्वाचनअघि नै इन्धनको मूल्य बढेको छ। यसैबीच, शुक्रबार ट्रम्पले रुसी डिजेल अमेरिका आयात गर्ने योजनाको घोषणा गरेका थिए।

 

सोमबार, युक्रेनको सरकारी ग्रिड सञ्चालक ‘उक्रेनेर्गो’ ले रुसी आक्रमणबाट ऊर्जासम्बन्धी उपकरणहरूमा पुगेको क्षतिको कारण खार्किभ, डोनेत्स्क र जापोरिजियामा नयाँ विद्युत् कटौती भएको जनाएको छ।

 

क्षतिग्रस्त उपकरणहरूमा अत्यधिक भार (ओभरलोड) पर्न नदिन युक्रेनका केही भागमा विद्युत् कटौती (राशनिङ) लागू गरिएको उक्रेनेर्गोले बताएको छ  । जेलेन्स्कीले ‘एक्स’ मा लेखे अनुसार यी आक्रमणहरू रुस ऊर्जासम्बन्धी युद्धविराम स्वीकार गर्न अनिच्छुक रहेको गतिलो प्रमाण हुन्। 

 

सोमबार साँझ, किभका मेयर भिताली क्लिट्स्कोले टेलिग्राममार्फत दिएको जानकारीअनुसार डार्नित्स्की जिल्लामा रहेको २५ तले आवासीय भवनमा एउटा ड्रोन प्रहार भएको छ। उनका अनुसार भवनको आँगनमा रहेका दर्जनौँ कारहरूमा पनि आगो लागेको थियो भने यस घटनामा एक जनाको मृत्यु र ११ जना घाइते भएका छन्।

 

सोमबार नै रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले युद्धविरामबाट प्राप्त हुने ‘राहत’ वा ‘विश्राम’ को हकदार युक्रेन नभएको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖