काठमाडौं । साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरिबहादुर सुनारले आफूमाथि लागेको महिला हिंसाको आरोप अस्वीकार गरेका छन्। उनले सम्बन्धित महिलासँग पहिले प्रेम सम्बन्ध रहेको र उनी विदेश गएपछि फोनमा सामान्य भनाभन मात्रै भएको दाबी गरेका छन्।
बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सुनारले आफूले महिला हिंसा नगरेको जिकिर गरे।
“हामी पहिले प्रेम सम्बन्धमा थियौँ, उहाँ विदेश गएपछि फोनमा सामान्य भनाभन मात्र भएको हो,” उनले भने।
सुनारले फोनमा भएको भनाभनलाई महिला हिंसाका रूपमा व्याख्या गर्न नमिल्ने दाबी गर्दै त्यससम्बन्धी प्रमाणसमेत प्रस्तुत गरेको बताए। उनले आफूमाथि लागेको आरोपको प्रतिवाद गर्दै घटनालाई दलितमाथिको हिंसाको विषयसँग पनि जोडे।
कुनै महिला रोएकै आधारमा आफू राजदूतका लागि अयोग्य नहुने उनको भनाइ थियो।
तर, सुनारको स्पष्टीकरणपछि समितिका सदस्यहरूले उनको नैतिक आचरण र राजदूत पदका लागि योग्यताबारे प्रश्न उठाएका छन्।
समिति सदस्य वर्षमान पुनले विवाद उत्पन्न भएकाले प्रस्तावित राजदूतले आफ्नो नाम फिर्ता लिए उचित हुने धारणा राखे।
त्यस्तै, सांसद पद्मा अर्यालले विषय गम्भीर रहेको बताउँदै पीडितको निवेदनका आधारमा सुनारलाई राजदूतका रूपमा स्वीकार गर्न नसकिने बताइन्। राजदूत पदका लागि उच्च नैतिक चरित्र आवश्यक हुने उल्लेख गर्दै उनले विवाहित व्यक्तिको अर्को महिलासँग प्रेम सम्बन्ध रहेको विषयलाई नैतिक आचरणसँग जोडेर प्रश्न उठाइन्।
समिति सदस्य प्रेम दंगालले पनि दुईवटा कारणले सुनारलाई राजदूतका रूपमा सिफारिस गर्न नसकिने धारणा व्यक्त गरे।
सुनुवाइका क्रममा सुनारमाथि लागेको आरोप, उनको स्पष्टीकरण तथा राजदूत पदका लागि आवश्यक नैतिक आचरणबारे समितिमा छलफल भएको छ।
