• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेशकुमार सिंह


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले दुई तिहाइ बहुमत प्राप्त गर्दैमा सरकारले गर्ने सबै निर्णय सही नहुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिंहले लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुने उल्लेख गरेका छन्। राजदूत नियुक्तिका लागि सरकारले गरेको सिफारिसमाथि संसदीय सुनुवाइ समितिमा प्रश्न उठिरहेको सन्दर्भमा उनले यस्तो धारणा राखेका हुन्।

राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा संसदीय समितिले सरकारको सिफारिसमाथि प्रश्न उठाउनु र आवश्यक परे रोक लगाउनु संसदीय निगरानीको महत्त्वपूर्ण अभ्यास भएको उनले बताएका छन्।

“दुई तिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही हुन्छन् भन्ने छैन। लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुन्छ,” सिंहले लेखेका छन्।

उनले लोकतन्त्रमा बहुमतको शासनसँगै बहुमतलाई समेत जवाफदेही बनाउने व्यवस्था आवश्यक रहेको उल्लेख गरेका छन्। सरकारका निर्णयमाथि संसदीय समितिले निगरानी राख्नु लोकतान्त्रिक व्यवस्थाको महत्त्वपूर्ण पक्ष भएको उनको भनाइ छ।

“लोकतन्त्रमा बहुमतको शासन हुन्छ, तर बहुमतलाई पनि जवाफदेही बनाउने व्यवस्था हुन्छ। यही हो लोकतन्त्रको सुन्दरता, यही हो संसदीय समितिको गरिमा,” उनले भनेका छन्।

राजदूत नियुक्तिसम्बन्धी सिफारिसमाथि संसदीय सुनुवाइ समितिमा भइरहेको छलफलका बीच सिंहको यो धारणा सार्वजनिक भएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖