• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

खगेन्द्र सुनारले पठाए पार्टी अनुशासन आयोगलाई लिखित जवाफ, के हुन्छ बाँकी प्रक्रिया ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै पार्टीको केन्द्रीय अनुशासन आयोगलाई लिखित जवाफ दिएका छन्।

एक महिलासँग आपत्तिजनक आरोप लगाएको र धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनिने अडियो सार्वजनिक भएपछि सांसद सुनार विवादमा तानिएका हुन्। उक्त अडियो सोमबार जनआस्था साप्ताहिकले सार्वजनिक गरेको थियो।

प्रकरणबारे उठेका प्रश्नको लिखित जवाफ दिन रास्वपा केन्द्रीय अनुशासन आयोगले मंगलबार सुनारलाई पत्र पठाएको थियो। आयोगका एक सदस्यका अनुसार सुनारले तोकिएकै समयमा जवाफ पठाउँदै आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन्।

आयोगका ती सदस्यले पीडित पक्षबाट उजुरी नआएको र सांसद सुनारले पनि आरोप स्वीकार नगरेको अवस्थामा स्वतन्त्र छानबिन प्रक्रिया अघि बढाइने बताएका छन्।

अडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना बढेसँगै रास्वपाले घटनाको सत्यतथ्य अनुसन्धान गरी छानबिन गर्न अनुशासन आयोगलाई निर्देशन दिएको थियो।

आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईका अनुसार प्रारम्भिक चरणमा सांसद सुनारको लिखित प्रतिक्रिया लिने काम सम्पन्न भएको छ। अहिले दोस्रो चरणको छानबिन प्रक्रिया अघि बढाइएको छ।

भट्टराईले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै अडियोको वास्तविक स्रोतसम्म पुगेर प्रमाण सङ्कलन गर्ने, आवश्यक कागजात मगाउने र आवश्यक परे विशेषज्ञबाट प्राविधिक परीक्षण गराउने प्रक्रिया सुरु गरिएको जानकारी दिए।

छानबिनलाई वस्तुनिष्ठ र प्रभावकारी बनाउन भट्टराईकै संयोजकत्वमा आयोगका सदस्यहरू सम्मिलित विशेष छानबिन समिति गठन गरिएको छ। समितिलाई आवश्यक अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन केन्द्रीय अनुशासन आयोगमा पेस गर्ने जिम्मेवारी दिइएको छ।

आयोगको बिहीबार बसेको बैठकले समिति गठन गरेको भट्टराईले बताए। समितिले काम सुरु गरिसकेको र अडियो सार्वजनिक गर्ने जनआस्था साप्ताहिकलाई छानबिनका लागि आवश्यक भिडियो, अडियो तथा अन्य कागजात उपलब्ध गराउन अनुरोध गर्ने निर्णय भएको उनले जानकारी दिए।

आयोगले सङ्कलित प्रमाण र आवश्यक प्राविधिक परीक्षणका आधारमा घटनाको थप अनुसन्धान अघि बढाउने जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖