काठमाडौँ । नेपाली कांग्रेसको आगामी ४ वर्षे कार्यकालका लागि १५ पदाधिकारीको नतिजा आएको छ ।
दुई पदाधिकारी निर्विरोध निर्वाचित हुँदा १३ पदाधिकारी प्रतिस्पर्धाबाट छानिएका हुन् ।
वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुसाल निर्विरोध भए भने सभापति गगन थापासहितका पदाधिकारी निर्वाचनबाट छानिएका छन् ।
सभापति थापा श्यामकृष्ण खड्कीलाई हराउँदै सभापति निर्वाचित भए । थापाले ६ हजार ५८४ मत ल्याउँदा खड्कीले ३७५ मत ल्याए ।
खुला उपसभापतिमा ७ जनाबिचको प्रतिस्पर्धामा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य निर्वाचित भए । खुला उपसभापतिमा उनीहरूसँग गोविन्द भट्टराई, सुरेन्द्रराज पाण्डे, धनराज गुरुङ, दीपक गिरी र प्रा.डा. चन्द्रमोहन यादव प्रतिस्पर्धामा थिए ।
समावेशी उपसभापतिमा ५ जनाबिचको प्रतिस्पर्धामा उद्योगपति विनोद चौधरी निर्वाचित भए । उनीसँग जीवन परियार, फरमुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्ण प्रतिस्पर्धामा थिए ।
खुला महामन्त्रीमा ८ जनाबिच प्रतिस्पर्धा भयो । त्यो प्रतिस्पर्धाबाट प्रदीप पौडेल र उदय शमशेर राणा निर्वाचित भए । उनीहरूसँग डा. सुनिल शर्मा, गुरुराज घिमिरे, नैनसिंह महर, अमरसिंह पुन मगर, शंकर तिवारी र डा. सन्तोष उपाध्याय प्रतिस्पर्धा गरेका थिए ।
महिला महामन्त्रीमा ३ जनाबिचको प्रतिस्पर्धाबाट डा. डिला सङ्ग्रौला निर्वाचित भइन् । उनीसँग महालक्ष्मी उपाध्याय (डिना) र रिता खनाल प्रतिस्पर्धामा थिए ।
विभिन्न १० कलस्टरका ११ सहमहामन्त्री निर्वाचित हुनेमा अहिलेसम्म ६ सहमहामन्त्रीको नतिजा आइसकेको छ ।
जसमा सहमहामन्त्री (महिला) २ जनाबिच प्रतिस्पर्धा भएकोमा प्रतिमा गौतम निर्वाचित भइन् । नानु मैया बास्तोला पराजित भइन् ।
२ जना निर्वाचित हुने सहमहामन्त्री (खुला) मा ९ जनाबिच प्रतिस्पर्धा भयो । त्यो प्रतिस्पर्धामा सबैभन्दा धेरै मत ल्याएर रामहरि खतिवडा र दोस्रो धेरै मत ल्याएर अजयबाबु सिवाकोटी निर्वाचित भए । उनीहरूसँग डिल्लीराम सुवेदी, देवेन्द्रराज कण्डेल, राजीव ढुङ्गाना, विकास कोइराला, अमृतकुमार अर्याल, रमेशप्रसाद धमला र विमलराज क्षेत्री प्रतिस्पर्धामा थिए ।
सहमहामन्त्री (आदिवासी जनजाति) मा ५ जनाबिचको प्रतिस्पर्धाबाट बहादुर सिंह लामा (तामाङ) निर्वाचित भए । उनीसँग ओमबहादुर घर्ती मगर, तारामान गुरुङ, दिलमान पाख्रिन र प्रशान्त मान सिंह मास्के प्रतिस्पर्धामा थिए ।
सहमहामन्त्री (दलित)मा ३ जनाबिच प्रतिस्पर्धा भएकोमा प्रकाश रसाइली स्नेही निर्वाचित भए । उनीसँग मानबहादुर नेपाली र नरेन्द्र पासवान प्रतिस्पर्धामा थिए ।
सहमहामन्त्री (पिछडिएको क्षेत्र)मा ५ जनाबिच प्रतिस्पर्धा भएकोमा जीवनबहादुर शाही निर्वाचित भए । उनीसँग जनकराज गिरी, नारायणप्रसाद भट्टराई राजन कुँवर र रामबहादुर विष्ट प्रतिस्पर्धामा थिए ।
अहिलेसम्म सहमहामन्त्री (मुस्लिम), सहमहामन्त्री (मधेसी), सहमहामन्त्री (थारु) र सहमहामन्त्री (अल्पसङ्ख्यक अपाङ्गता) र सहमहामन्त्री (खसआर्यको नतिजा आएको छैन ।
पदाधिकारी जितेका मध्य केही गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सम्पन्न नभएका र निर्वाचनमा सभापति शेरबहादुर देउवा समूहबाट महाधिवेशनको मुखैमा संस्थापनमा फर्किएका पनि छन् । केही विशेष महाधिवेशनका बेलामा देउवा समूह छोडेर आएका पनि छन् । विशेष महाधिवेशनका बेलामा देउवा समूह छोडेर आउनेमा महिला उपसभापति पुष्पा भुसाल, समावेशी उपसभापति विनोद चौधरी, खुला महामन्त्री उदय शमशेर राणा, महिला महामन्त्री डा. डिला सङ्ग्रौला, सहमहामन्त्री आदिवासी जनजाति बहादुरसिंह लामा तामाङ छन् ।
महाधिवेशनको मुखैमा देउवा समूह छोडेर संस्थापनमा छिरेर खुलातर्फ सहमहामन्त्रीमा रामहरि खतिवडा र पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्रीमा जीवनबहादुर शाहीले निर्वाचन जितेका छन् ।
भुसाल देउवा समूह छोडेर विशेष महाधिवेशनमा आएर उपसभापति बनेकी थिइन् । अहिले समावेशी उपसभापतिमा पराजित फरमुल्लाह मन्सुरु १४ औँ महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री छोडेर विशेष महाधिवेशनमा सहभागी भई सहमहामन्त्रीमै चयन भएका थिए । त्यस्तै अहिले महामन्त्रीमा निर्वाचित राणा विशेष महाधिवेशन छिरेर सहमहामन्त्री बनेका थिए भने महामन्त्रीमै निर्वाचित डा. सङ्ग्रौला पनि देउवा समूह छोडेर विशेष महाधिवेशनमा छिरेर सहमहामन्त्री बनेकी थिइन् ।
