काठमाडौं । नेपालमा उपभोक्ता मुद्रास्फीति बढेर ६.३४ प्रतिशत पुगेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८३ भदौमा यस्तो मुद्रास्फीति अघिल्लो वर्षको सोही महिनाको १.८७ प्रतिशतबाट बढेको हो।
खाद्य तथा पेय पदार्थ समूहमा ७.७५ प्रतिशत मूल्यवृद्धि भएको छ। यसमध्ये घ्यू तथा तेलको मूल्य १६.६८ प्रतिशत र फलफूलको १५.९९ प्रतिशतले बढेको छ।
गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.६९ प्रतिशत पुगेको छ। क्षेत्रगत रूपमा तराईमा ६.८९ प्रतिशत र प्रदेशगत रूपमा मधेशमा सबैभन्दा बढी ७.४८ प्रतिशत महँगी रहेको छ। भारतमा भने समीक्षा महिनामा मुद्रास्फीति ४.८२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
