काठमाडौँ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा हटाइएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ ।
एमालेले कार्यालयको सुरक्षाका लागि पूर्वसैनिक तथा पूर्वप्रहरीको टोली परिचालन गरेको छ । साथै, कार्यालय परिसरमा चौतर्फी रूपमा सीसीटीभी क्यामेरा जडान गरी निगरानीसमेत बढाइएको जनाइएको छ ।
एमालेले वि.सं. २०४८ देखि आफ्नो केन्द्रीय कार्यालयमा सरकारी सुरक्षा सेवा पाउँदै आएको थियो । तर, हालै कुनै पूर्वजानकारीविना सरकारी सुरक्षा हटाइएको विवरणमा उल्लेख छ ।
सरकारी सुरक्षा हटाइएपछि कार्यालय परिसरमा सुरक्षा जोखिम बढेको महसुस गर्दै पार्टीले आफ्नै तर्फबाट सुरक्षा सतर्कता बढाएको हो । पछिल्लो समय अपरिचित व्यक्तिहरूको अस्वाभाविक आवागमन तथा गतिविधि बढेको भन्दै एमालेले सुरक्षा व्यवस्था थप मजबुत बनाएको जनाइएको छ ।
नयाँ व्यवस्थाअनुसार पूर्वसैनिक तथा पूर्वप्रहरीको टोलीले २४ सै घण्टा कार्यालयको सुरक्षा गर्नेछ । सीसीटीभी क्यामेरामार्फत कार्यालय परिसरमा हुने गतिविधिको निरन्तर निगरानीसमेत गरिनेछ ।
सरकारी सुरक्षा हटाइएपछि एमालेले आफ्नै संयन्त्रमार्फत कार्यालयको सुरक्षा व्यवस्थापन अघि बढाएको छ ।
