• Sunday 18th of October 2026

यात्रुवाहक बस नालीमा पल्टिँदा १० जना घाइते


  • धनकुटा खबर
  • .

चितवन । चितवनको राप्ती नगरपालिका–२ सिमरा चोकमा यात्रुवाहक बस अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

आइतबार बिहान करिब १०:४५ बजे भरतपुरबाट हेटौँडा हुँदै राजविराजतर्फ जाँदै गरेको बा ४ ख ७३९० नम्बरको बस अनियन्त्रित भई नालीमा पल्टिएको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजन पौडेलको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको थियो। बसमा सवार करिब २३ जनामध्ये १० जना घाइते भएका थिए। उनीहरूलाई उद्धार गरी उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ।

घाइतेहरूको विवरण

प्रहरीका अनुसार दुर्घटनामा चितवनको राप्ती नगरपालिका–१० का २० वर्षीय सविन तामाङ, खैरहनी नगरपालिका–६ की ६० वर्षीया फूलमती यादव, सर्लाहीको हरिपूर्वा नगरपालिका–४ की ५० वर्षीया कैशलिया देवी राम र उदयपुरको कटहरी नगरपालिका–१ का २३ वर्षीय अमृतबहादुर लुङ्गेली मगर घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको छ।

त्यस्तै, सुनसरीको हरिपुर चोककी २१ वर्षीया रमिना चौधरी थारू पनि घाइते भएकी छन्। १२ हप्ताकी गर्भवती रहेकी उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा भारतको रक्सौलका ४३ वर्षीय मुकेश ठाकुर, सर्लाहीको हरिपूर्वा नगरपालिका–४ का २२ वर्षीय सत्यम राम, सुनसरीको हरिपुर चोकका २५ वर्षीय अजय चौधरी थारू, चितवनको राप्ती नगरपालिका–५ की ४२ वर्षीया रीता देवी माझी र उनका सात वर्षीय छोरा आदित्य माझी घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको छ।

दुर्घटनामा संलग्न बसका चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीका करिब ४६ वर्षीय नवराज कार्की प्रहरी नियन्त्रणमा रहेका छन्।

दुर्घटना कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖