काठमाडौ । नेपाल टेलिकमले ३० एमबीपीएस इन्टरनेट प्याकेजसम्बन्धी प्रकाशित समाचारप्रति ध्यानाकर्षण गराउँदै उक्त प्याकेजको मूल्य र स्वीकृतिबारे फैलिएको भ्रममा नपर्न आग्रह गरेको छ।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछाने जारी गरेको प्रेस विज्ञप्तिअनुसार कम्पनीले ४ हजार ९९९ रुपैयाँ बराबरको ३० एमबीपीएस इन्टरनेट प्याकेजका सम्बन्धमा केही सञ्चारमाध्यममा तथ्यभन्दा फरक रूपमा समाचार प्रकाशित तथा प्रसारित भएको जनाएको छ।
नेपाल दूरसञ्चार प्राधिकरण, जमल, काठमाडौँले गत असाेज ३० गते इन्टरनेट सेवा प्रदायकहरूले प्राप्त गरेको अनुमति पत्रका सर्तविपरीत काम गरेको भन्ने सम्बन्धमा जारी गरेको प्रेस विज्ञप्तिलाई आधार मानेर भ्रामक समाचार सम्प्रेषण भएको टेलिकमको दाबी छ।
टेलिकमका अनुसार कम्पनीले विगतदेखि नै निरन्तर रूपमा सञ्चालन गर्दै आएको प्याकेज स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै आएको छ।
कम्पनीले असाेज ३० गते अफरको रूपमा सञ्चालनमा ल्याएको प्याकेजबारे प्राधिकरणलाई जानकारी गराइसकेको र उक्त प्याकेज विद्यार्थी अफरका रूपमा सञ्चालनमा ल्याइएको विषयमा समेत जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ।
टेलिकमले विभिन्न सञ्चारमाध्यममा आएका ३० एमबीपीएसको एकवर्षीय प्याकेज तथा ४ हजार ९९९ रुपैयाँ बराबरको सस्तो प्याकेजको स्वीकृति र सञ्चालनका विषयमा कुनै भ्रममा नपर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ।
नेपाल सरकारको स्वीकृत नीति तथा कानुनको परिधिभित्र रहेर काम गरिरहेको उल्लेख गर्दै नेपाल टेलिकमले कानुन पालना गर्न आफू सधैँ प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
