• Tuesday 20th of October 2026

‘जोगियो नेपालको ओडीआई मान्यता’


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम शृङ्खलाको निर्णायक खेलमा घरेलु टोली ओमानलाई १० रनले स्तब्ध पार्दै नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन सफल भएको बताइएको छ।

ओमानको अल अमिरात मैदानमा सोमबार भएको रोमाञ्चक खेलमा जित हात पारेसँगै नेपाल अंकतालिकाको छैटौँ स्थानमा उक्लिन सफल भएको छ ।

लिग–२ को यस अन्तिम शृङ्खलामा अभूतपूर्व पुनरागमन गर्दै नेपालले आफ्ना चारवटै खेलमा जित हासिल गर्‍यो। यस जितसँगै नेपालले ३६ खेलबाट ३० अंक जोड्दै क्यानडालाई पछि पारेर छैटौँ स्थान सुरक्षित गरेको हो ।

सबै ३६ खेल खेलिसकेको क्यानडा २९ अंकसहित सातौँ स्थानमा झरेको छ। शीर्ष चारमा स्थान बनाउन नसकेका कारण नेपालले सोझै विश्वकप छनोट खेल्न नपाए पनि छैटौँ स्थान हासिल गर्दै विश्वकप छनोट प्लेअफमा स्थान बनाएको छ। एसियन क्रिकेट काउन्सिलले फेसबुकमार्फत नेपालले ओडीआई मान्यता सुरक्षित गरेको जानकारी गराएको छ । आईसीसीले भने आधिकारिक घोषणा गर्न बाँकी छ ।

सोमबार भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रनको बलियो योगफल तयार पारेको थियो। नेपालका लागि रोहित पौडेलले ८० रन, दीपेन्द्रसिंह ऐरीले ६९ रन र देव खनालले ५७ रनको महत्त्वपूर्ण इनिङ्स खेलेका थिए। रोहित र दीपेन्द्रबीच चौथो विकेटका लागि भएको १३९ रनको साझेदारी खेलको मुख्य आधार बनेको थियो।
जवाफमा २८१ रनको विजयी लक्ष्य पछ्याएको ओमानका लागि जतिन्दर सिंहले ८९ र हम्माद मिर्जाले ८७ रन जोड्दै दोस्रो विकेटका लागि १५८ रनको विशाल साझेदारी गरेपछि खेल नेपालको हातबाट फुत्किने संकेत देखिएको थियो। तर, नेपाली बलरहरूले उत्कृष्ट पुनरागमन गर्दै ओमानलाई निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रनमै रोके। अन्तिम ओभरतिर हस्नैन शाहले अविजित ४० रन बनाए पनि नेपालका ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले २–२ तथा सन्दीप लामिछाने र नन्दन यादवले १–१ विकेट लिँदै नेपालको ऐतिहासिक जित सुनिश्चित गरे।

यस रोमाञ्चक जितपछि आईसीसीसँग कुरा गर्दै नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले समर्थकहरूको मुटुको धड्कन बढाउने शैलीमै भए पनि नेपालले अन्ततः ओडीआई मान्यता जोगाउन सफल भएको भन्दै ठूलो राहत र खुसी व्यक्त गरे। यद्यपि उनले आईसीसीले आधिकारिक जानकारी गराउन बाँकी रहेको बताए ।

अम्पायरका केही निर्णय आफ्नो पक्षमा नआए पनि र विपक्षीले उत्कृष्ट ब्याटिङ गरे पनि नेपाली टोलीले लगातार दबाब कायम राख्दै अतिरिक्त जोखिम लिन बाध्य पारेको उनले बताए। सन्दीपले उत्कृष्ट ब्याटिङ गर्ने देव, रोहित, दीपेन्द्र, फिनिसिङ दिने बसिर अहमद तथा सम्पूर्ण बलिङ युनिटको प्रशंसा गरे।

टोलीको यस लामो र उतारचढावपूर्ण यात्रामा सधैँ साथ दिने सम्पूर्ण नेपाली समर्थकहरूलाई कप्तान सन्दीपले विशेष धन्यवाद दिए। समर्थकहरूकै निःस्वार्थ माया र आशीर्वादले गर्दा नै टोली धेरै आरोह–अवरोह पार गर्दै आज छैटौँ स्थानमा पुग्न सफल भएको उनको भनाइ थियो। आगामी दिनमा नेपाली क्रिकेटको यात्रा अझ रोमाञ्चक हुने विश्वास व्यक्त गर्दै कप्तान लामिछानेले सम्पूर्ण देशवासी तथा क्रिकेटप्रेमीहरूलाई बडादसैँको शुभकामनासमेत दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖